भुटानी शरणार्थी प्रकरण : वारेन्ट जारी भएका ४ जना फरार, १२ जना पक्राउ

काठमाडौँ - नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पुर्जी (वारेन्ट) जारी भएका ४ जना प्रहरीको खोजी सूचीमा रहेका छन् ।

प्रहरीले सो प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक, पूर्वसभासद आङ्टावा शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेको छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको खबर सञ्चामाध्यममा आउँदा उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा व्यस्त थिए । तर, उनी प्रहरीलाई छल्दै सभामुख देवराज घिमिरेसँग भैरहवासम्म आएपनि त्यहाँबाट फरार रहँदै आएका छन् ।

उनी भारतमा लुकेको हुनसक्ने आशंकासहित प्रहरीको एक टोली यतिबेला भारत पुगेको छ । रायमाझी फरार भएको ११ दिन बितिसक्दा समेत पक्राउ पर्न सकेका छैनन् । बरु उनले एमाले नेतृत्वलाई नै घात गरेको र अनुसन्धानमा सघाउनुको साटो फरार भएको भन्दै पार्टीले सचिवबाट निलम्बन गरिसकेको छ । प्रहरीले साझमाझीका छोरा सन्दीपलाई भने वैशाख २० मै पक्राउ गरेको थियो । 

यस्तै इन्द्रजित राईका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले इन्द्रजितलाई वैशाख १९ मा पक्राउ गरेको थियो । नक्कली शरणार्थी प्रकरणमा राजनीतिक नेतृत्वसँग जोडिएर पक्राउ परेका इन्द्रजित नै पहिलो पात्र थिए । सोही प्रकरणमा राईका छोराको समेत कनेक्सन देखिएर पक्राउ पुर्जी जारी भएपछि उनी आइतबारसम्म पक्राउ पर्न नसकेका हुन् । 

यस्तै पछिल्लो पटक पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा र पूर्वसांसद आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्द्रजित पक्राउ परेपछि अनुसन्धान गर्दा प्रतीक थापा पनि उक्त घटनामा संलग्न रहेको प्रमाण भेटिएसँगै थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । 

यस्तै आङटावा २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए । 

भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् । अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् । 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.