परिवारको पेट भर्न मजदुरी गर्दै आठ वर्षीय बालक
बुबाको मजदुरीका लागि भारत गएका बेला ठेकेदारले हत्या गरेपछि परिवारलाई भोकभोकै देख्न नसकेर गिट्टी उठाएर आम्दानी गर्दै आएको छु ।

सुधा देव
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीका आठ वर्षीय विजय सदा (मुसहर) मजदुरी गरेर परिवारको हातमुख जोड्न सहयोग गर्दै छन् ।

यो उनको रहर नभएर बाध्यता हो । उनले काम गर्न थालेको दुई महिना भयो । उनले भने,'बुबाको मजदुरीका लागि भारत गएका बेला ठेकेदारले हत्या गरेपछि परिवारलाई भोकभोकै देख्न नसकेर गिट्टी उठाएर आम्दानी गर्दै आएको छु ।'

उनलाई कहिलेकाहीँ गाउँका छिमेकीले ससाना काम लगाउँछन् । काम गरिदिएबापत ५० देखि १०० रुपैयाँसम्म उनलाई दिने गरेका छन् । त्यतिले मात्र उनको परिवारको आर्थिक संकट टर्ने अवस्था नदेखेपछि उनले बेलुका दुईदेखि तीन घण्टा गिट्टी उठाएर ट्याक्टरमा लोड गर्ने गरेका छन् ।

त्यसबापत १०० देखि डेढ सय रुपैयाँ पाउँदै आएपछि परिवारलाई दुई छाक हातमुख जोड्न केही सहज भएको विजयको भनाइ छ ।

उनको सम्पत्तिको नाममा एक टुक्रा जग्गा पनि छैन । ऐलानी जग्गाम बनाएको एउटा भत्किन लागेको सानो झुपडी छ । त्यही झुपडीमा द्ध जनाको परिवार गुजारा गर्दै आएक‍ो स्थानीय पवित्री सदाले बताइन् ।
उनले भनिन्,झएक त विपन्न परिवार, कमाउने बाबुको पनि भारतमा हत्या भएपछि उनीहरूको दिनचर्या दुःखै दुःखमा बित्न थालेको हो ।ु

भोकभोकै बस्नुपर्ने बाध्यता भएपछि घरको कान्छो छोरा विजयले मजदुरी रोजेका हुन् । उनका १० वर्षीय दाजु गाई, बाख्रा चराउन जाने गरेको पवित्रीको भनाइ छ । विजयको परिवारमा विजयका हजुरबुबा, हजुरआमा, आमा, दाजु र दिदी छन् ।

छोराको हत्या भएदेखि हजुरबुबाको पनि मानसिक अवस्था ठीक नरहेको विजयका नातामा हजुरबुबा पर्ने अयोधी रामले बताए । २०७७ साल माघ महिनामा स्थानीय अक्षेश्वर यादवले ३० वर्षीय दीपेन सदालाई घरमा तीन हजार रुपैयाँ दिएर भारतको यमुनानगरस्थित प्लाइउड उद्योगमा मजदुरी गर्न लगेका थिए । दीपेनलाई अक्षेश्वरले कुटपिट गरी त्यहीँ हत्या गरेको अयोधीको भनाइ छ ।

यस घटनाबारे अदालतमा मुद्दा चलिरहेको छ । यी विपन्न पीडित परिवारले न्याय पाउनेमा स्थानीयहरू विश्वस्त छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.