काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पार्टीमा रहने पदाधिकारी निर्वाचनबाट नभई स्थायी कमिटीको बैठकबाट स्वीकृत गराउने प्रयत्नमा जुटेका छन् ।
महाधिवेशनको प्रक्रियालाई थाती राखेर सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड आफूअनुकुल पदाधिकारी सर्वसम्मत बनाउन लागिपरेका हुन् ।
माओवादी निर्वचन समितिले तय गरेको निर्वचनको कार्यक्रमलाई थाती राखेर महाधिवेशनस्थल कमलादीमा माओवादी स्थायी कमिटी बैठक बसेको थियो ।
स्रोतका अनुसार उनले पदाधिकारीमा रहनेहरुको नाम पनि तयार पारिसकेका छन् । यद्यपि सर्वजनिक गरेका छैनन्।
मओवादी विधानअनुसार १५ पदाधिकारी हुने व्यवस्था छ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष हुने व्यवस्था छ।
केन्द्रीय सदस्यमा पनि ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशीबाट चयन गरिने भएको छ। यससँगै १५ प्रतिशत केन्द्रीय सदस्य अध्यक्षले मनोनीत गर्न पाउनेछन्। यसअघि १० प्रतिशत मनोनीत गर्ने व्यवस्था थियो।
समावेशीबाट आउने ५० प्रतिशत केन्द्रीय सदस्यमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी जनजाति, खस आर्य, अपाङ्गता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर छुट्याइएको छ। खुला र सबै क्लस्टरबाट गरी ३५ प्रतिशत महिला आउने व्यवस्था गरिएको छ।
महाधिवेशनका क्रममा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनसँगै पूरक राजनीतिक मत र फरक मतसमेत प्रस्ताव भएका थिए ।
सो क्रममा उनीनिकट मानिने हरिबोल गजुरेलले यसअघि बाबुराम भट्टराईलाई किन अध्यक्ष नबनाएको भनी प्रश्न गरेका थिए ।
अध्यक्ष दाहाल विगत ३२ वर्षदेखि अध्यक्ष पदमा रहँदै आएका छन् । विगतमा उनीसँग जजसले प्रतिस्पर्धा गरे ती सबै किनारा लागिसकेका छन् ।