काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ ।सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो । आजको बैठकमा सहभागि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठक निष्कर्षविहीन भएको जानकारी बताए ।
प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराएर सर्वदलीय बैठक राख्न सभामुख सापकोटालाई बैठकमा सहभागी नेताहरूले सुझाव दिएका छन् ।
सोमबारको बैठक एमालेले बहिस्कार गरेको थियो । ‘प्रतिपक्षी दललाई सहभागी गराएर बैठक राख्न सुझाव दियौँ’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भनिन् ।
सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक राखेका हुन् । बैठकमा कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरू सहभागी थिए ।