सकियो, उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक, के-के भए निर्णय ?

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । 

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले राष्ट्रियसभा चुनाव र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गरेको छ ।

कार्कीका अनुसार बैठकले गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन अपील गरेको छ ।

आगामी माघ १२ गते १९ सिटमा हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय भएको उनले बताए ।


राष्ट्रियसभामा गठबन्धन सम्बद्ध दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तलमेल भएको छ । जसमा काँग्रेसले ६, जसपाले २, जनमोर्चाले १, माओवादी र एकीकृत समाजवादीले ५–५ सिटमा उम्मेदवार उठाएका छन् । सबै उम्मेदवार जिताउने गरी रणनीति बनाएर जाने बैठकले निष्कर्ष निकालेको कार्कीले बताए ।

त्यसैगरी, बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको शुभकामना दिएको छ ।

प्रधानमन्त्री देउवा पुस २६ मा भारत भ्रमणमा जाँदै छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.