राष्ट्रिय सभा चुनावको परिणाम हाम्रो विपरीत आउन सक्छ, यसबाट नआत्तिनूस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम नेकपा एकालेको विपरीत आउन सक्ने बताएका छन् । 

शुक्रबार एमाले जिल्ला अधिवेशन उद्घाटन गर्ने क्रममा उनले अहिले हुन लागेको चुनावमा अहिलेको जनमत भन्दा पनि पहिलेको जनमत भएकाले त्यसको दुरुपयोग हुन सक्ने बताउँदै उनले सो बताएका हुन् ।

‘१२ गतेको परिणाम हाम्रा लागि प्रतिकूल आउन सक्छ’, देशव्यापी जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘किनभने त्यो आजको जनमत र कुनै यथार्थ जनमत होेइन । आजभन्दा ४ वर्षअघि विभिन्न प्रवृत्तिलाई व्यस्थापन गर्न सीट बाँडेका थियौं ।’

ओलीले यो चुनाव हिजोको जनादेशबाट हुन लागेकाले यसबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे । ‘२ जना मान्छे तलमाथि पार्दा हाम्रो मान्छे हार्छ,’ ओलीले भने, ‘तर, अहिले पनि हामी अरु पार्टी भन्दा एक्लै मजबुत छौं । हिजोको जनमत दुरुपयोग गरेर राष्ट्रियसभाको परिणाम आउन सक्छ ।’

ओलीले राष्ट्रियसभाको निर्वाचन एमालेमाथिको अन्तिम प्रहार हुने समेत बताए । ‘सकरात्मक परिणाम आएन भनेर कुनै अन्यथा मान्नुपर्ने कारण छैन, किनभने यो पहिलेको जनमत हो,’ उनले भने, ‘एमालेमाथि प्रहारको यो अन्तिम किस्ता हो ।

नेकपा एमालेविरुद्ध अहिले नेपाली कांग्रेसलगायत पाँच दल गठबन्धनको रुपमा रही चुनाव लड्दै छन् । 

यसअघि पनि गठबन्धनमा मिलेर राष्ट्रिय सभा चुनाव हुँदा रामबहादुर थापा पराजित भएका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.