काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला सुरु हुने समय नजिकिएसँगै व्यवस्थापनको कामलाई तिव्रता दिइएको छ । सो क्षेत्र भएर चल्ने टिपर एक महिनाको लागि बन्द गरिने भएको छ । पनौती नगरपालिका–७ ले सूचना जारी गर्दै माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नान कुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि नै सो क्षेत्रमा चल्ने टिपर बन्द गर्ने निर्णय गरेको हो ।
वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पनौती त्रिवेणी घाट क्षेत्रमा लाग्ने मकर मेला व्यवस्थापन व्यवस्थित गर्न अबको एक महिनासम्म टिपर चलाउन बन्द गर्ने निर्णय गरेको बताए । टिपरसँगै सो क्षेत्रमा खानी उत्खन्न नगर्न तथा वडा बासिन्दाले घरपालुवा हाँस एवं पशुपन्छी खोलामा नछाड्नसमेत आग्रह गरिएको छ ।
नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी काभ्रे एकीकृत खानेपानीबाट आएको पानी जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।