एपेन्डिसाइटिसको शल्यक्रियामा बर्दिबासको शुभस्वस्तिक अस्पतालका चिकित्सकको चरम लापरबाही
सामान्य पेट दुखेर उपचारका लागि शुभस्वस्तिक अस्पताल पुगेका गोपाल बरालले उपचार गर्दागर्दै आफ्ना छोरा बासु बरालको अवस्था यति गम्भीर हुन्छ भनेर कल्पनासमेत गरेका थिएनन् ।

महोत्तरी । गत ८ भदौमा  सामान्य पेट दुखेर उपचारका लागि शुभस्वस्तिक अस्पताल पुगेका गोपाल बरालले उपचार गर्दागर्दै आफ्ना छोरा बासु बरालको अवस्था यति गम्भीर हुन्छ भनेर कल्पनासमेत गरेका थिएनन् ।

सामान्यभन्दा बढी नै पेट दुख्न थालेपछि गोपालले छोरालाई अस्पताल भर्ना गरेका थिए । डाक्टरको सल्लाहबमोजिम गत सोमबार उनले आफ्ना छोराको शल्यक्रिया गर्न अनुमति दिए । शल्यक्रिया भएपछि छोराको स्वास्थ्य अवस्था सुधार होला भन्ने आशा गरेका बराल त्यसबेला चिन्तित भए, जब छोरा बासुको स्वास्थ्य अवस्था नाजुक बन्दै गयो ।

पेट सामान्यभन्दा बढी सुन्निएर स्वासप्रस्वासमै समस्या उत्पन्न भएपछि बरालले चिकित्सक र अस्पताल सञ्चालक दिपक कार्कीसँग थप सल्लाह लिए । अस्पताल र कार्कीले उपचार भइरहेको र १२ घन्टापछि अवस्था ठिक हुँदै जाने भनेर आश्वस्त पारे । २४ घन्टापछि पनि ठिक नभएपछि बरालमा चिन्ता बढ्दै गयो । छोराको अवस्थामा कुनै सुधार नभएपछि बरालले आत्तिँदै अस्पतालका सञ्चालक कार्कीलाई एम्बुलेन्स व्यवस्थापन गरिदिन अनुरोध गरे । तर, कार्कीले बिरामीलाई ठिक हुने जिद्दि छाडेनन् ।

‘त्यसपछि मैले नै जिद्दी गरेर १० भदौमा तुरुन्त धुलिखेल अस्पतालमा लैजाने निधो गरें,’ बरालले भने ।

सुभ स्वस्तिक अस्पतालमा भएको लापरबाहीको विषयमा जब धुलिखेल अस्पतालका चिकित्सकले बताए, तब बराल छाँगाबाट खसे जस्तै भए । ‘तपाईले बिरामीलाई ल्याउन अलिकति मात्र पनि ढिला गरेको भए ज्यान बचाउन मुस्किल हुन्थ्यो, बिरामीको अवस्था अत्यन्त गम्भीर छ,’ चिकित्सकको भनाइ उद्धृत गर्दै बरालले भने ।

धुलिखेल अस्पतालका चिकित्सकका अनुसार एपेन्डिसाइटिसको शल्यक्रिया गर्ने क्रममा आन्द्रालाई समुचित ढंगले नबाँधेको र सफा नगरेको हुनाले अत्यन्त जटिल समस्या देखिएको हो । आन्द्रा नबाँधेकाले दिसा, पिसाब पेटभरि फैलिएको र मृगौलामा समेत गम्भीर असर पार्दै गएको देखिएको उपचारमा संग्लन चिकित्सकहरुले बताए ।

सिटिस्क्यान गर्दासमेत पेटभरि फोहोर भरिएको हुनाले देख्न नसकिएको र अनुमानका भरमा थप शल्यक्रिया गरी आन्द्रा बाँधेर र सफा गरेपछि अहिले स्वास्थ्यवस्थामा क्रमशः सुधार हुँदै गएको परिवारको भनाइ छ ।

बर्दिबासका निजी अस्पतालले उपचारमा चरम लापरबाही गर्दै आएको  विषयमा पटक पटक सर्वसाधारणबाट गुनासो आउने गरेको छ । ‘म त सचेत मान्छे थिएँ र पो अस्पतालको बदमासी थाहा पाएँ, अन्य सर्वसाधारण कति ठगिएका होलान्, कति पीडित बनेका होलान्, त्यसको लेखाजोखा नै गर्न नसकिने अवस्था छ,’ गोपाल बरालले भने ।

अस्पताल प्रमुख दिपक कार्कीले भने बदमासी नभएको दाबी गरे । ‘हाम्रै सल्लाहमा बिरामीलाई धुलिखेल अस्पताल लगिएको हो,’ उनले भने । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.