बाघको आक्रमणबाट मृत्यु भएकाको पहिचान हुन सकेन
ट्टीखोलाभित्र बाँके राष्ट्रिय निकुञ्जबाट निस्केका दुईवटा पाटेबाघको आक्रमणमा परेर आइतबार राति एक पुरुषको ज्यान गएको थियो ।

आरपी सुवेदी

नेपालगंज । पूर्व - पश्चिम राजमार्गको गाभरमा बाघको आक्रमणमा परेर ज्यान गएका व्यक्तिको पहिचान हुन सकेको छैन । बाँकेको राप्तीसोनारी गाउँपालिका -१ गाभरको भट्टीखोलाभित्र बाँके राष्ट्रिय निकुञ्जबाट निस्केका दुईवटा पाटेबाघको आक्रमणमा परेर आइतबार राति एक पुरुषको ज्यान गएको थियो ।

स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका पुरुष आइतबार साँझ पनि सधैँझैँ आफ्नो काम सकेर भट्टीखोला पुलमा गर्मी छल्न गएपछि उनी फर्केका थिएनन् । आइतबार बेलुकीदेखि हराएका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो ।

मृतकका खुट्टासहितका अंगहरू राजमार्गभन्दा करिब ५०० मिटर उत्तरतर्फ निकुञ्जभित्रको जंगलमा भेटिएको प्रहरीले जनाएको छ । बाघले मान्छे खाएको समाचार सार्वजनिक भएपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयले घटनास्थल आसपासमै बाघलाई प्रत्यक्ष देखेका बताएका छन् ।

मान्छे खाएको बाघबाट थप घटना हुन नदिनका लागि बाँके राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिने गरी तयारी गर्दै बाघको निरन्तर अनुगमन गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिँदै भने, ‘मान्छेलाई मारेको बाघ घटनास्थल छेउछाउमै छ । घटनास्थलभन्दा २०० मिटर पर बाघलाई देखेका छौँ ।'

बाघले थप क्षति नगरोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिरहेका उनले बताए । भर्खरै माउ बाघसाग छुट्टिएका वयस्क अवस्थाका बाघहरू आफ्नो स्थानको खोजीमा भौँतारिएको जस्तो अनुसन्धानबाट देखिएको उनले बताए । उनले भने, ‘बाघ नियन्त्रणमा लिन, उनीहरूको गतिविधि नियाल्नका लागि क्यामेरा ट्यापिङ गर्नुका साथै बर्दिया र चितवन निकुञ्जबाट प्राविधिकसहितको टोली घटनास्थल पुगेर आफ्नो काम सुरु गरिसकेको छ ।’

दुईवटा बाघ एकै ठाउँमा भएका कारण नियन्त्रणमा लिन चुनौती भएको निकुञ्ज स्रोतले जनाएको छ । यता, बाघको आक्रमणमा परी मृत्यु भएका ती व्यक्तिको भने अझै नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । निकुञ्जले सो क्षेत्रमा घाँस काट्न जंगल जान तथा आफ्ना पशु(चौपाया लिएर जंगल नजान र राजमार्गमा साइकल, मोटरसाइकल जस्ता साना सवारी साधन एक्लै नहिँड्न सूचना प्रवाहसमेत गरेको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाघको आक्रमणबाट मृत्यु भएका व्यक्ति भारतीय नागरिक भएको पुष्टि भए पनि उनको यकिन परिचय भने खुल्न सकेको छैन । ‘मृतकको नाम, ठेगाना अझै खुलेको छैन, मानसिक अवस्था अलिक कमजोर भएको अवस्थामा बाटोमा हिँड्दै आएको र केही समयदेखि होटलमा काम गर्न थालेका रहेछन् । उनका आफन्त कोही पनि सम्पर्कमा आएका छैनन्’, उनले भने । मृतकको शवको घटास्थल मुचुल्का गरी पोष्टमार्टमका लागि नेपालगंज ल्याइएको छ ।

बाँके राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमै बाघले मानिसमाथि आक्रमण गरेको यो पहिलो घटना हो । यसअघि बाँके राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा परी दुई महिलाको दुई वर्षअघि ज्यान गएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.