काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावतिर नलागी लुटपाट गर्नतिर लागेको आरोप लगाएका छन् ।
सोमबार संखुवासभा जिल्ला अधिवेशनको उद्घाटनका क्रमा उनले सो बताएका हुन् ।
‘सरकार लुटपाटमा लागेको छ । चुनावतिर होइन्,’ अध्यक्ष ओलीले भने ।
स्थानीय निर्वाचन सम्बन्धि ऐनमा पहिलोपटक निर्वाचन भएको मितिको दुई महिनाअगाडि नै नेतृत्व चयन हुनुपर्ने भए पनि त्यसको तयारी नभएको उनको भनाइ छ ।
ओलीले २०७४ सालमा स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाखमा सम्पन्न भएकाले फागुनमा नै अहिले निर्वाचन हुनुपर्ने उल्लेख गरे ।
सो क्रममा उनले २०७४ को निर्वाचनको समय मानेर दुईमहिना अगाडि निर्वाचन गरिसक्नुपर्ने भए पनि सो समयमा निर्वाचन सम्भव नभएको बताए ।
विगतमा पनि सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर कर्मचारीमार्फत चलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकारको षडयन्त्र भइरहेको बताए ।
उनले भने, ‘०५९ सालमा पनि जनप्रतिनिधिहरुको चुनाव गरेर म्याद थपिएन । त्यो बेला कर्मचारीहरुको जिम्मा लगाइएको थियो । त्यसपछि स्थानीय तह पङ्गु भए । पछि २०७४ सालमा प्रतिनिधिहरुको निर्वाचन भयो । अहिले फेरि सरकारले निर्वाचन गर्नेमा शंका छ ।’