सभामुखसँग एमालेको छलफल हुँदैन: सुवास नेम्वाङ

इलाम ।  नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन् । 

‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनु भएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने  दुई दलको बिचमा फरक व्यवहार गर्न पाइँदैन’ नेम्वाङले थपे, ‘जसको विषयमा प्रश्न उठेको छ उहाँसँग के छलफल गर्ने। 

सभामुख नेम्वाङ सत्तापक्षले उठाएको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । ‘हामी प्रधानमन्त्रीसँग छलफल गर्न तयार छौं’, नेम्वाङले भने,‘तर छलफललाई औपचारिकतामा सीमित गर्ने कोसिस नहोस् ।’

नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा लामो समयपछिको भेटवार्तालाई सकारात्मक भनेका छन् । 

‘हामीले भेटवार्तालाई सकारात्मक रूपमानै लिएका छौं । तर छलफल औपचारिक मात्रै भएको छ’ नेम्वाङले भने । एमाले नेता नेम्वाङले एक मिनेट पनि सदन अवरुद्ध हुनु सरकारको लागि इज्जतको कुरा नभएको टिप्पणी गरेका छन् ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेको सूचनालाई टाँस गर्दै उनीहरूलाई संसद्मा उपस्थित हुन दिनु नहुने माग गर्दै नियमित रूपमा सदन अवरोध गर्दै आएको छ ।

तर, निर्वाचन आयोगले उनीहरूलाई छुट्टै पार्टीको मान्यता दिइसकेकाले केही गर्न आवश्यक नभएको सभामुखको निर्णय छ । पूर्वसभामुख समेत रहेका नेम्वाङले केही नगरी बस्न नपाइने दाबी गरे । 

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले पार्टीभित्रको गुटबन्दीको अन्त्य भएको बताएका छन् । दसौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा नेम्वाङले भने, ‘पार्टीमा' अब गुट छैन, गुट हुनु पनि हुँदैन’ नेम्वाङले भने, गुटगत गतिविधि इन्कार गर्नुपर्छ, नेतृत्वले सबैलाई समेट्नुपर्छ ।

नेम्वाङले दूषित काम कारबाही गरेर एमाले सरकारमा नजाने बताएका छन् । उनले निर्वाचनमा मार्फतै एमाले सरकारमा पुग्ने दाबी गरे ।

उनले तागत भए एक्लै हराएर देखाउन चुनौती दिए । एमालेलाई हराउने क्षमता भए प्रतिनिधिसभाको उपनिर्वाचन किन नगराएको भनेर प्रश्न गरेका छन् । ‘कुनै पनि पद खालि भएको छ महिना भन्दा बढी समय भए उपनिर्वाचन गराउनुपर्छ ।  

नेम्वाङले भने, ‘एमालेलाई हराउने आँट भए उपनिर्वाचन किन नगरेको  नेम्वाङले अहिलेको सरकारमा निर्वाचन सार्ने बानी परेकाहरू भएकाहरूले समयमा निर्वाचन हुनेमा समेत शङ्का व्यक्त गरे । 

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.