चितवन । कोरोना संक्रमणको दर घटेसँगै चितवनका अस्पतालहरुका कोभिड वार्डहरु खाली हुन थालेका छन् ।
जिल्लाका अस्पताल र पालिकाहरुले सञ्चालन गरेका आइसोलेसन सेन्टरमा ७१७ वेड छन्, जहाँ वेडमा सोमबार साँझ जम्मा ५१ जना बिरामी रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा कोभिडका लागि ११० वेड छुट्याईएो छ, जहाँ ३७ जना बिरामी छन् । ११ जना आईसीयू, १५ जना एचडीयू र र ११ जना साधारण वेडमा उपचाररत छन् ।
यसैगरी चितवन मेडिकल कलेजमा १३२ वेड छ, नौ जना बरामी रहेका छन् । ५ जना आईसीयू र ४ जना एचडीयूमा उपचाररत छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा २१० वेडमा एक जना मात्रै बिरामी छन् । उनको आईसीयूमा उपचार भईरहेको छ ।
यस्तै १४० वेड कोभिडका लागि छट्याएको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा एक जना मात्रै बिरामी साधारण वेडमा उपचार भईरहेको छ । कालिका नगरपालिकामा २ जना र जिल्लाका अन्य निजी अस्पतालमा एक जना कोभिड संक्रमितको उपचार भईरहेको छ । अरु बेडहरु खाली छन् ।
भरतपुर महानगरपालिकाले ३०, माडी नगरपालिकाले १०, रत्ननगर नगरपालिकाले ८, खैरहनी नगरपालिकाले २०, कालिका नगरपालिकाले १२ र ईच्छाकामना गाउँपालिकाले २५ वेड अक्सिजन सहितको कोभिड वार्ड तयार गरेका छन् ।
संक्रमित दर १० प्रतिशतभन्दा कम
जिल्लामा कोरोना संक्रमणको दर १० प्रतिशतभन्दा कम छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले संक्रमणको दर, बेड अकुपेन्सी दर, गम्भीर बिरामीको दर र मृत्युदर निकै कम हुँदै गएको बताए । यसले सुखद अवस्थाको संकेत गरे पनि सावधानी भने पर्याप्त अपनाउनुपर्ने बताए ।
जिल्लामा दैनिक ५ सयदेखि ८ सय जनासम्मको पीसीआर परीक्षण हुने गरेको छ । कुनै बेला ११ सयसम्मको परीक्षण हुने गरेको थियो । ग्रामिण क्षेत्रमा गरिने एन्टिजेन परीक्षणबाट कोभिड संक्रमणको दर पनि घटेको उनले बताए । ‘अरु जिल्लाको जस्तो शान्त अझै भएको छैन’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने, ‘५ सयभन्दा बढि संक्रिय संक्रमित हुँदा सावधानी अपनाउनुपर्छ ।’
असोज १ गतेदेखि विद्यालय खोल्ने कतिपय स्थानीय तहको निर्णय हतारमा भएको उनले टिप्पणी गरे । ‘पहिला ५ सयभन्दा बढि संक्रमित भएपछि लकडाउन गर्ने अवस्था हुन्थ्यो, अत्यास हुन्थ्यो,’ उनले भने, ‘अहिले पनि ५ सयभन्दा बढी संक्रमित छन् । केही सजिलो पक्कै भएको छ तर पुरै खुल्ला हुने अवस्था हैन ।’
चितवन मेडिकल कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले कोभिडका बिरामी कम भएसँगै अस्पतालको कामकाजमा सहजता आएको बताए । ‘अस्पतालको सम्पूर्ण इर्फोट कोभिडको उपचार र व्यवस्थापनमा लगाएका थियौं, अहिले अवस्था केही सहज भाएको छ,’ प्रमुख प्रशासकिय अधिकृत देवकोटाले भने, ‘अहिले अस्पतालका अन्य सेवालाई थप व्यवस्थित र सहज कसरी बनाउन सकिन्छ भनेर ध्यान केन्द्रीत गर्न फूर्सद मिलेको छ ।’
अहिले सबभन्दा धेरै कोभिडका बिरामी भरतपुर अस्पतालमा (३७ जना) छन् । पहिला दैनिक २० भन्दा बढी संक्रमित भर्ना हुन आउने गरेका थिए, अहिले घटेर २ जनासम्म आउने गरेको अस्पतालका कोभिड कोअर्डिनेटर डा. प्रमोद पौडेलले बताए । संक्रमित बिरामीको संख्या निकै कम भएपछि जनरल वार्डहरुमा रुपान्तरण गरेर ज्वरो तथा अन्य बिरामीहरु राख्न थालिएको उनले बताए ।