ओखलढुंगा । कोरोनाभाइरसविरुद्धको पहिलो डोज कोभिल्डको खोप लगाएका सर्वसाधारणलाई अर्को खोप लगाउँदा असर गर्ने हो कि भन्ने चिन्ता पनि छ । कोभिशिल्डको दोस्रो मात्राको सट्टा एस्ट्राजेनेका लगाउन सिद्धिचरण नगरपालिकाको खोप केन्द्र पुगेकी शोभा सैंजुले भनिन्, ‘पहिला अर्कै लगाएको थिएँ, अहिले यो खोप लगाउँदा समस्या पो आउने हो कि ।’
उनको आशंका निवारण गर्दै स्वास्थ्यकर्मी हिमाल दाहालले भने, ‘शरीरमा दुवै खोपले प्रतिरोधात्मक क्षमता विकास गर्ने हो, केही असर हुँदैन, ढुक्क हुनुहोला ।’ केही अन्यौलता र आशंकाकाबीचमा कोभिशिल्डको दोस्रो डोज खोप नपाएका नागरिकले मंगलबारबाट एस्ट्राजेनेका खोप पाएका छन् ।
ओखलढुंगामा कोरोना भाइरस कोभिड( १९ विरुद्धको कोभिशिल्ड खोप लगाएर छुटेका १६ हजारभन्दा बढी नागरिकलाई दोस्रो डोज एस्ट्राजेनेका खोप लगाइएको छ । गत चैतमा पहिलो डोज लगाएका नागरिकलाई कोभिशिल्ड नआएपछि एस्ट्राजेनेका लगाइएको हो ।
स्थानीय तहका स्वास्थ्य संस्था र नजिकको खोप केन्द्रमा मंगलबारबाट खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए । उनकाअनुसार दुई दास्रो दिनसम्म अधिकांशले लगाइसकेको र छुटेका व्यक्तिले बिहीबार लगाउन सक्ने छन् ।
यस बीचमा भेरोसेल खोपको दोस्रो डोजसमेत लगाइनेछ । पहिलो डोज लगाएर कार्ड प्राप्त गरेका व्यक्तिले नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पाउने पन्तले जानकारी दिए ।
कोभिशिल्डको पहिलो डोज लगाएका १६ हजार पाँच सय जनलाई तीन दिनमा दोस्रो डोज एस्ट्राजेनेका खोप दिन लागिएको हो । यो खोप कोभिशिल्ड जस्तै भएकाले कोभिशिल्डको दोस्रो डोज लगाउन छुटेकाहरूलाई लगाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।