काठमाडौं । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतको पछिल्लो भूमिकालाई लिएर कांग्रेसद्वारा जारी विज्ञप्तिमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको हस्ताक्षर छ ।
लिपुलेक–लिम्पियाधुरा–कलापानी क्षेत्रमा भारत सरकारले सडक बनाएको विषयमा ध्यानाकर्षण भएको, र भारतीय सैनिक फिर्ताका लागि कूटनीतिक पहलका लागि जारी सो विज्ञप्तिमा दुई महामन्त्रीको हस्ताक्षरको विषयले कांग्रेसको आन्तरिक राजनीतिमा सकारात्मक तरंग प्रवाह गरिरहेको छ ।
सभापति देउवाले १३ महाधिवेशनबाट निर्वचित महामन्त्री शशांक कोइरालालाई भन्दा महामन्त्रीको भूमिका मनोनीत महामन्त्रीलाई प्रदान गरेका थिए ।
शर्मा आज सभापति देउवानिकट छन् । जसका कारण देउवाले शर्मालाई नै महामन्त्रीको जिम्मेवारी सुम्पिने पो हुन कि भनी विभिन्न कोणबाट आशंका गर्न थालिएको छ।
तर,१४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित महामन्त्रीद्वय थापा र शर्माले आधा-आधा कार्यकाल महामन्त्री चलाउने सहमति गरेका छन् ।
शंका उब्जिनुको मुख्य जड भनेको निर्वाचनमा ४० प्रतिशत मत ल्याएर दास्रो दर्जामा रहेको प्रर्तिस्पर्धी शेखर कोइरलालाई देउवाले २०औं वरीयतामा राख्नु एक हो ।
शुक्रबार कांग्रेसद्वारा जारी विज्ञप्ति सोही सहमतिको एक प्रक्रिया हो ।
थापा र शर्माको विगतको सम्बन्ध
२०५३ को स्ववियु निर्वाचनमा थापा र शर्माबीच पहिलो भेट त्रिचन्द्र कलेजमा भएको थियो । त्यसको दुई वर्षपछि २०५५ सालमा त्रिचन्द्रमा स्ववियु सभापति बनाउन शर्माले नै थापालाई सहयोग गरेको थिए भनिन्छ ।
थापा र शर्मा २१ वर्षअघि एउटै कमिटीमा रहेर काम गरेका नेत हुन् । ०५७ मा शर्मा नेपाल विद्यार्थी सङ्घको अध्यक्ष हुँदा थापा उपाध्यक्ष थिए ।
शर्मा नेविसंघ राजनीतिबाट रिङआउट भए भने थापा घिमिरे नेतृत्वको कमिटीमा उपसभापतिबाट घटुवा भएर महामन्त्री बने ।
त्यसपछि थापा र शर्मा एउटै कमिटीमा बसेर काम गर्ने अवसर १५ वर्षसम्म जुरेन ।
तर, ०५९ मा कांग्रेस विभाजन हुँदा संस्थापन पक्षमै उभिएका थिए, थापा र शर्मा ।
पार्टी विभाजनबीच भएको ११ औँ महाधिवेशनमा थापा र शर्माले केन्द्रीय समितिमा आउने जमर्को गरेनन् ।
०६७ सालमा भएका १२ औँ महाधिवेशनमा थापाले सानेपा (केन्द्रीय सदस्य) ताके भने शर्माले झापा (जिल्ला सभापति) ।
थापा लोकप्रियमा एक नम्बर मत ल्याएर थापा केन्द्रीय सदस्य बन्दा शर्मा झापा जिल्ला सभापतिमा उपविजेता बने । यही विन्दुबाट पार्टी राजनीतिमा थापा शर्माभन्दा अगाडि लागे ।
थापा महामन्त्रीमा पराजित भएपछि मनोनीत भएर केन्द्रीय कमिटीमा आए भने शर्माले खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
करिब साढे पाँच वर्ष थापा र शर्मा पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गरे । तर केन्द्रीय कमिटीमा थापाभन्दा ढिलो पुगे पनि प्रवक्ताको जिम्मेवारी पाएपछि शर्मा हाबी भएका थिए ।
सभापति शेरबहादुर देउवाले प्रवक्ताको आश्वासन थापालाई र जिम्मेवारी शर्मालाई दिएका थिए ।
फागुन ०७५ मा प्रवक्ता नियुक्त भएपछि पार्टीलाई चलायमान बनाउन शर्माले राम्रै भूमिका खेलेका थिए । १४ औँ महाधिवेशनबाट थापा र शर्मा समान हैसियतमा पुगेका छन् ।
थापा शर्माभन्दा ६ वर्ष कान्छा भए पनि महामन्त्रीको वरीयतामा अगाडि देखिएका छन् । २०३३ सालमा जन्मिएका थापा अहिले ४५ वर्षका भए भने शर्मा यही पुसबाट ५१ वर्ष पुगेका छन् ।
देउवासँगको टकराव
कांग्रेस विधानमा बहुपदको व्यवस्था भए पनि सभापति सबैभन्दा शक्तिशाली छन् ।
सामूहिक नेतृत्व भनिए पनि सभापतिको अधिकारले त्यसलाई सहज हुन दिँदैन । पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनको मुख्य अधिकार रहने कुरा कांग्रेस विधानको दफा २५ को ४ मा उल्लेख छ ।
जसअनुसार विधानले महामन्त्रीलाई दिएका मुख्य अधिकार गगन र विश्वमध्ये कसलाई प्रत्यायोजन गर्ने भन्ने अधिकार सभापतिलाई दिएको छ ।
सभापति देउवा दुवै महामन्त्रीबीचको सम्बन्ध न सुमधुर न तिक्तता छ ।
यसअघि सभापति देउवाले पार्टीमा प्रवक्ताको जिम्मेवारी दिएपछि शर्मा देउवानिकटस्थ बनेका थिए ।
तर, १४औं महाधिवेशनमा पुराना र सिटौलालाई स्थान दिएपछि शर्मा देउवाबाट केही बिच्किएका छन् ।
अर्का महामन्त्री थापा र देउवाबीचको सम्बन्धलाई बाहिरबाट हेर्दा सुमधुर र तिक्ततापूर्ण दुवै नरहेको देखिन्छ ।
थापाले विगतमा पार्टी नेतृत्वप्रति जोडबलका साथ आवाज उठाइरहेका थिए । हाल उठाइरहेका छन् ।
गगन र विश्वप्रकाशको सम्बन्ध वैरभाव कि आत्मियता ?
थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएसँगै भविश्यका प्रतिस्पर्धीका रुपमा हेर्न थालिएको छ ।
विगतदेखि वर्तमानसम्म हेर्ने हो भने उनीहरु एकअर्काका प्रतिस्पर्धी र समर्थक रहँदै आएका छन् ।
जुन कुरा महामन्त्रीको कार्यकालमा दुवैले देखाएको उदारताले पनि पुष्टि गरेको छ ।
तीन वर्षअघि झापामा भएको एउटा कार्यक्रममा शर्माले थापालाई ‘भावी प्रधानमन्त्री’ भनेर परिचय गराएका थिए ।
०७४ सालको संघीय संसद्को निर्वाचनमा शर्मा र थापाबीच एकअर्काको सकारात्मक पक्षबारे बोलेको भिडियोको ‘क्लिप’ सामाजिक सञ्जालमा बेलाबेलामा आउने गरेको छ ।
दुवै नेतालाई १५ औं महाधिवेशनको सभापतिको रुपमा हेरिएको छ । घटना र परिस्थितिले पनि सो कुरालाई पुष्टि गर्छ ।
महामन्त्री भएपछि दुवै नेताले एक–अर्कासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुका साथै केहि संकेत देखिएता पनि त्यसमा ढुक्क हुनसक्ने अवस्था भने छैन ।
भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको सार्वजनिक राजनैतिक छवि उस्तैखालको भएकाले पनि व्यक्तित्वमा वैरभव नआउला भन्न सकिँदैन ।
दुवै नेताले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताका लागि निस्वार्थ कार्य गरेमात्रै थापाले भनेजस्तो समुन्नत नेपाल सम्मानित नेपाली हुन सक्छ । शर्माले खोजेजस्तो सामाजिक रुपान्तरण हुनसक्छ ।
दुवैले आफ्नो अवधारणहरुलाई जीवन्त पार्दै कांग्रेसको सपना साकार पार्ने जिम्मेवारी उनीहरुको काँधमा छ ।