काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले पशुपतिनाथमा बतास समूहले बनाएको भौतिक संरचनाको अनुगमन गरेका छन् ।
आइतबार मन्त्री आलेले गरेको निरीक्षणका क्रममा पशुपति धर्मशालाभित्र बतास समूहले विनाअनुमति भौतिक संरचना बनाएको खुलेको छ ।
निरीक्षणपछि पत्रकार सम्मेलन गर्दै मन्त्री आलेले भने, ‘निरीक्षणका क्रममा अनुमति नलिइकनै भौतिक संरचना बनाइएको पाइयो । तर, यसको विस्तृत विवरण भोलि सोमबार सार्वजनिक हुन्छ ।’
निरीक्षणका क्रममा मन्त्री आलेसँगै पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्य पनि सहभागी भएका थिए ।
धर्मशालामा होटल तथा रेष्टुरेन्ट सञ्चालन गरिएको छ । त्यसैगरी, व्यापारका लागि महंगा-महंगा समान पनि राखिएको छ ।
निरीक्षणका क्रममा उठेका कतिपय प्रश्नमा पशुपति विकास कोषका समिति सदस्य तथा अध्यक्षले सबै कुरा भन्ने अनुमति नभएको भन्दै कुरा खोलेनन् ।
धर्मशालाका थुप्रै कोठा बन्द थिए । तर, ती कोठामा के राखिएको छ खोल्नूस् भन्दा एक सदस्यले आफूसँग चाबी नभएको प्रतिक्रिया दिए ।
एक विल्डिङको टपमा गुफासमेत निर्माण गरिएको छ ।




