काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेशनलाई भ्रष्टचार गरेको आरोप लागेको छ । तथापी आरोप पुष्टि हुन भने बाँकी छ । फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चरम भ्रष्टचार गरेको भन्दै आरोप लागेको हो ।
सो विषयलाई लिएर फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले फाउण्डेसनविरुद्ध उजुरी आएको पुष्टि गरेका छन् । जति रकम उठाएका छन्, त्यसको ४० प्रतिशत समेत खर्च नगरेको भन्दै फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी परेको हो ।
विभिन्न देश र नेपालमै पनि धेरै संघ संस्थाहरुबाट रकम उठाएका धुर्मुस सुन्तलीले रंगशालाईलाई अन्यौलमा छोडेको भन्दै गुनासोहरु पनि आउन थालेको छ । फाउण्डेशनले विभिन्न ठाउँमा सहायता प्रदान भएको सामाग्रीहरुको मात्र प्रयोग गरि रंगशाला निर्माण गरेको र अहिले अधुरो छोडेको बताइएको छ । उठाएका रकम र रंगशालामा खर्च भएको रकमको कुनै आयव्यय नै प्रस्तुत नगरि फाउण्डेशनले रंगशाला निर्माणको काम अलपत्र छाडेको जन गुनासो छ ।
उजुरीको आधारमा अनुसन्धान शुरु गरिने आयोगले जनाएको छ । फाउण्डेशनले रंगशालामा ५४ करोड रुपैयाँभन्दा बढी खर्च भएको बताइएको छ । रंगशालाको निर्माण कार्य भने शुरुवाती चरणमै छ । करिब ३ अर्ब लागतमा निर्माण हुने भनिएको रंगशालाको निर्माण कार्य हाल बन्द रहेको छ ।
१७ करोड ऋण लागेको भन्दै फाउण्डेशनले रंगशाला निर्माणको अभिभारा लिन भरतपुर नगरपालिकालाई आग्रह गरेको थियो ।