जुम्ला । जुम्लाका विपन्न असहाय महिलालाई एक महिने हातेहोजियारी तालिम दिन थालिएको छ । चन्दननाथ नगरपालिका भित्रका विपन्न असहाय महिलाको आयआर्जनमा सुधार ल्याउनका लागि हातेहोजियारी तालिम दिइएको हो ।
सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा हिमाली महिला जागरण केन्द्र जुम्लाको आयोजनामा महिला आयआर्जन सम्बन्धी सिपमूलक एक महिने तालिम दिन थालिएको छ ।
एक महिनासम्म महिलालाई ऊन तथा ऊनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइने हातेहोजियारी प्रशिक्षक सरस्वती भारतीले बताइन् । उनले भनिन्, एक महिने तालिमले उनीहरू पूर्ण रूपमा टोपी र मोजा बुनेर विक्रीवितरण गर्न सक्ने हुनेछन् ।
सामाजिक विकास कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम शाहीले कार्यविधि अनुसार विपन्न तथा आर्थिक रूपमा पछि परेका महिलाहरूको आयआर्जनमा सुधार ल्याउनका लागि सिपमूलक तालिम दिने गरिएको बताए ।
उनले भने, यस्ता प्रकृतिका तालिमबाट सिप सिकेर धेरै महिला स्वरोजगार बनेका छन् । यो तालिममा सहभागी महिलाले पनि सिप सिकेर स्वरोजगार बन्ने र उनीहरूको आयआर्जनमा सुधार हुने अपेक्षा गरिएको छ ।
त्यस्तै हिमाली महिला जागरण केन्द्र जुम्लाकी अध्यक्ष छिरिङ ल्यामु लामाले ३ माघदेखि एक महिने हातेहोजियारी सिपमूलक तालिम सञ्चालन गरिएको बताइन् । अहिले ग्रामीण महिला असक्षम र अशिक्षित छन् ।
उनीहरू चुलोचौकोमा सीमित भएका कारण आर्थिक रूपमा असक्षम छन्अध्यक्ष लामाले भनिन्, आर्थिक रूपमा असक्षम भएकै कारण समाजमा घरेलु हिंसाका घटना घट्ने गरेका छन् । विभिन्न सिपमूलक तालिमबाट सिप आर्जन गरी व्यवसाय भएपछि महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
हातेहाजियारी सिपमूलक तालिममा चन्दननाथ नगरपालिका १० जना महिला सहभागी छन् । एक महिनासम्म तालिममा सहभागी भएर सिप सिक्ने महिलालाई प्रमाणपत्र पनि प्रदान गरिने हिमाली महिला जागरण केन्द्र जुम्लाले जनाएको छ ।