सबै भन्दा बढी सडक दुर्घटना हुने राजमार्ग कर्णाली

जुम्ला । चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटिले  कर्णाली  राजमार्गमा  अधिकांश सडक दुर्घटनाको मुख्य कारण भएको  जिल्ला ट्राफिक कार्यालय जुम्लाका  प्रहरी साहयक निरीक्षक  विमल कुमार  रावतले बताए । 

सडक दुर्घटनाका कारण  जुम्लालगायत कर्णाली राजमार्गमा बर्सेनि औसतमा  दुई हजारभन्दा बढीको ज्यान जाने गरेको  छ  । तर, पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन ।

उनका अनुसार सडक दुर्घटना कम गर्न निरन्तर अभियानहरू चलाइरहेको दाबी गर्छन् ।  तर, ट्राफिक प्रहरीको विवरण हेर्ने हो भने जुम्लामा सडक दुर्घटनाबाट हरेक महिनामा  औसतमा सात जनाको ज्यान जाने गर्छ । यस कारण सजिलै अनुमान गर्न सकिन्छ कि हरेक वर्ष सडक दुर्घटनाबाट हुने मानवीय क्षति बढ्दो छ ।

तर, यस्ता दुर्घटनाको कारणप्रति कसैले पनि खासै चासो नराखेको उनको तर्क छ । ‘सडक दुर्घटनाको अनुसन्धान पनि हुँदैन कोही ठूलाबडा परिहाले भने अनुसन्धान हुने हो । त्यो पनि विज्ञहरू राखेर हुँदैन । त्यसले के प्रस्ट हुन्छ भने  जुम्लामा मात्रै नभई देशमै सडक सुरक्षालाई राज्यले प्राथमिकतामा राखेको देखिँदैन,’ उनले भने । 

उनका बुझाइमा सडक दुर्घटनाका लागि यान्त्रिक गडबडीभन्दा मानवीय कमजोरी सबैभन्दा बढी जिम्मेवार देखिने गरेका छन् । उनी भन्छन् ‘सडकमा टोल लगाएर भए पनि राम्रो सडक बनाए कम क्षति हुनसक्छ।’ 

सडक दुर्घटनाका प्रमुख कारण :

सडक सुरक्षासम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा बर्सेनि बढ्दो सडक दुर्घटनाका कारण कर्णालीले  सक्रिय  रुपको ठूलो जनसंख्या गुमाइरहेको छ । जुम्ला सडक खण्डमा  आर्थिक  वर्ष २०७१/७२मा  ६ वटा  सवारी दुघर्टनामा २४ जनाको मुत्यु भएको  छ  भने ३४ जना गम्भीर घाइते भए ।

त्यस्तै  २०७२/७३ सवारी दुर्घटनाबाट  ६ जनाको मुत्यु भएको छ भने १७ जना घाइते भएको  जिल्ला ट्रफिक कार्यालयको तथ्याङक छ । २०७३र७४मा  ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

२०७४/७५ मा १३ जनाको मृत्यु भयो भने २०७५/७६ मा  २५ वटा सवारी  दुर्घटना ६ जनाको मृत्यु र नौ जना घाइते भए । २०७६/७७मा  १५ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो भने सात जना घाइते भए ।

२०७७/७८ मा सवारी दुर्घटना ३२ वटा भएका छन् । जसबाट चार जनाको मृत्यु र ४० जना घाइते भए । चालु आर्थिक वर्षको हालसम्म सवारी दुघर्टनाबाट नौ जनाको मृत्यु भएको छ भने नौ जना नै घाइते भएका छन् । २०७१ सालदेखि हालसम्म सवारी दुर्घटनाबाट ७८ जनाको मृत्यु भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाले बताएको छ । त्यस्तै १२५ जना घाइते भएका छन । 

ट्रफिक कार्यालय कर्णाली प्रदेशका अनुसार २०६६/६७ देखि चालु आर्थिक वर्षको हालसम्म ४३२ वटा सवारी दुर्घटना भएका छन । उक्त दुर्घटनाबाट १५५ पुरुष, ३१ जना महिला, १० जना  बालक   र  एक बालिका गरी १९७ जनाको मृत्यु भएको ट्रफिक कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी  वीरेन्द्रवीर विश्वकर्माले बताए । 

यो तथ्याङक  कर्णाली राजमार्गको  दैलेख , कलिकोट र जुम्लाको मात्र भएको जिल्ला ट्रफिक कार्यालय जुम्लाका  प्रहरी साहयक निरीक्षक  विमलकुमार  रावतले बताए । 

उनका अनुसार  सबैभन्दा दुर्घटना जुम्लाको कच्ची सडकमा हुने गरेको छ । कच्ची सडक त्यसैमा साँघुरो तीव्र गतिमा  सवारी गुडाउने, सडकमा खाल्डो छल्न खोज्दा दुर्घटना हुने गरेको पाइन्छ  ।

सडक सुरक्षाका लागि चालक सबै हिसाबले योग्य र जिम्मेवार हुनुपर्छ भन्ने मान्यतासहित यातायात व्यवस्था विभागले २०६९ सालमा ‘व्यावसायिक सवारी चालक अनुमतिपत्र सम्बन्धी नियमावली’ को मस्यौदा बनाएको थियो । तर, २०७१ सालमा मन्त्रिपरिषद्बाट पारित भएर लागू गर्ने तयारी क्रममै नियमावली थन्क्याइयो । 

यो त एउटा उदाहरण मात्र हो, सडक सुरक्षाका लागि नगरी नहुने समयानुकूल नीतिगत व्यवस्थासहित सुरक्षाको प्रणाली बनाउने काम नै नहुँदा दिनानुदिन दुर्घटना बढिरहेका छन् ।  जसमा नागरिकहरूले अनाहकमा ज्यान गुमाउनुपरेको छ । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.