चीनका राष्ट्रपति सी जिनपिङले विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन् । सोमबार डाभोस विश्व आर्थिक मञ्चको भर्चुवल बैठकलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
द्वन्द्वले समस्या समाधान नहुने बताउँदै उनले कोरोना महामारीको प्रभावसँग जुध्न साझा पहल गर्नुपर्ने बताए ।
राष्ट्रपति सी जिनपिङले विश्व अर्थतन्त्रलाई थप खस्किन नदिन आर्थिक नीतिको राम्रो समन्वय गर्न पनि सो क्रममा आग्रह गरे ।
चीनको सफलताकाे उल्लेख
राष्ट्रपति सी जिनपिङले भर्चुवल बैठकलाई संबोधन गर्ने क्रममा चीनले कोरोना संक्रमण न्यूनीकरणमा गरेको सफलताको प्रसंसा गरेका थिए ।
उनले विश्वका ठूला शक्तिहरुबीचको सम्बन्धमा कमजोरी रहेको औंल्याउदै भविष्यका लागि सचेत गराएका थिए ।
विकासोन्मुख देशहरूले आफ्ना गतिविधिबाट पीडित हुन नपरोस् भन्नका लागि देशहरूबीच ठोस समन्वयको आवश्यकता रहेको र समृद्ध मुलुकले जिम्मेवार आर्थिक नीति अवलम्बन गर्नुपर्ने उनले चेतावनी दिएका थिए ।
चीनको शून्य कोभिड नीति
कोरोना महामारी सुरु भएदेखि नै चीनले शून्य कोभिड नीति अवलम्बन गर्दै आएको छ । चीनका सिमाना बाहिरी देशसँगैका नाका बन्द छन् । महामारीमा चीन विश्वककै लागि उत्पादनको प्रमुख केन्द्र बनेको छ।
विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै सी जिनफिङले शताब्दीमा एक पटक आउने महामारीसँग विश्वले निकै कठिन लडाइँ लडेकाे बताएका छन् ।
उनले भाइरसका नयाँ भेरियन्टहरू पहिलेको तुलनामा द्रुत रूपमा फैलिरहेकाले यो महामारी लामो समयसम्म रहने र यसले विश्वव्यापी अर्थतन्त्रको सामना गर्ने चुनौतीलाई गहिरो बनाएको समेत बताएका छन् ।
सी जिनपिङले भने, 'उद्योगहरूको लागि विश्वव्यापी आपूर्ति श्रृंखला अवरुद्ध भएको छ। वस्तुहरूको मूल्य द्रूत रूपमा बढिरहेको छ । ऊर्जा आपूर्ति प्रभावित भएको छ।'
उनले संरक्षणवाद र स्वेच्छाचारी कार्यले कसैको हित नगर्ने बताउँदै यसले अन्ततः आफूलाई पनि हानि पुर्याउने हुनाले द्वन्द्व नगरी वार्ताको बाटोमा अघि बढ्न अनुराेध गरे ।
चीन र अमेरिकाबीच चलिरहेको राजनीतिक र व्यापारिक द्वन्द्वका बीचमा राष्ट्रपति सी जिनपिङको यो भनाइ आएको हो ।
(क्विक नेपालका लागि उर्मिला शर्माको अनुवाद)