विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका हुन् । थप पाँच मन्त्री थपिएसंगै प्रदेश १ मा ८ सदस्यीय मन्त्रीमण्डल भएको छ । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् ।
उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाएका छन् । मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए । मुख्यमन्त्री बनेको २० दिनपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेर दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् ।
अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनका लागि असोज २२ गते प्रदेशसभाको ९ औं अधिवेशन आह्वानका लागि सिफारिस गरेका छन् ।