भक्तपुर । भक्तपुरस्थित अरनीको राजमार्गसँग जोडिएको सय रोपनी जग्गा भू–माफियाले कब्जा गरेको छ । स्थानी जनप्रतिनिधिसँगको मिलेमतोमा ग्रिनहिल भिलेज हाउजिङ प्रा.लि.ले सरकारी जग्गा हडपिएको हो ।
हाउजिङ कम्पनीले हडपिएको जग्गामा हाउजिङ निर्माणको काम अघि बढाइएको छ । कम्पनीले सरकारी जग्गा हडपिएपछि स्थानीयले आवाज उठाउन थालेका छन् ।
नागरिक सरोकार समिति गठन गरी स्थानीयले उक्त जग्गाको संरक्षण गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । भक्तपुर सुर्यविनायक नगरपालिका–९ स्थित उक्त जग्गाबारे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले जग्गा र सो भू–माफियाको वारेमा जानकारी गराएको छ ।
ग्रिन हाउजिङ प्रा.लिले सु.न.पा–९ का वडा अध्यक्ष उपेन्द्रराज केसीसँग गोप्य सम्झौता गरी सार्वजनिक जग्गा कब्जा गरेको समितिले दावी गरेको छ । समितिले व्यक्तिहरुको नाममा रहेको ७३ रोपनी र नेपाल सरकारको नाममा रहेको ५३ रोपनी ५ आना जग्गा हाउजिङ कम्पनीले लिएको उल्लेख गरेको छ ।
वडा कार्यालयले गरेको गैरकानुनी सम्झौता र हाउजिङ प्रा.लि.ले नेपाल सरकारको सम्पत्ति र प्राकृतिक सम्पदा, खानेपानी, सिचांई, चरिचरण र वनजंगल माथि गरेको हस्तक्षेपको स्थानिय जनता र नागरिक सरोकार मुल समितिबाट विरोध हुँदै आएको छ ।
समितिले सोही विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजूरी गरेको छ । समितिले प्रमाणित दस्तावेजहरुसहित जग्गा कब्जा गरिएको भन्दै तत्काल कारबाहीको माग गरेको छ ।


