काठमाडौं । रेणुकुमारी यादवले दिएको अभिव्यक्ति क्षमा योग्य छैन भन्दै युवा संघले विज्ञप्ति निकालेको छ । रौतहटको सदरमुकाम गौर स्थित एक सभामा २०७८ माघ ५ गते संघिय सरकारका माननीय भौतिक पुर्वाधार तथा यातायात मन्त्री तथा जसपा नेतृ श्री रेणुकुमारी यादवले दिएको अभिव्यक्ति प्रति युवा संघले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेको हो ।
विज्ञप्तिमा भनिएको छ , आसन्न निर्वाचन प्रभावित गर्न वा हुन नदिने मनासायले प्रेरित यो अभिव्यक्ति निन्दनीय छ । संविधान, ऐन, कानुन नीति नियम विधि र पद्धतिको पुर्ण कार्यान्वयनका लागि जिम्मेवारी वहन गर्न तल्लीन हुनुपर्ने सघिंय सरकार मन्त्री जस्तो पदमा रहेको व्यक्तिबाट अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाँदै खुल्लेआम अर्को नरसंहार गराईदिने अराजक अपराधिक र हत्याहिंसा भड्काउन उृद्दत मन्त्रीको अभिव्यक्ति कुनै पनि मानेमा क्षमा योग्य छैन विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा मन्त्रीलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न सरकारसँग माग समेत गरिएको छ । हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध युवा संघ नेपालका कार्यकर्ता सडकमा उत्रेका छन् । यूवा संघ धनुषाले आज जनकपुरधाममा मन्त्री यादवविरूद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी यूवाहरुले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिदैन’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।
