काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद लक्ष्मण लम्सालसहितका समूहले पशुपति क्षेत्र विकास कोष परिसरमा संचालन गरेको प्राणनाथ क्याफेले तिर्न बाँकी एक करोड रकम मिनाह गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेम आलेको पहलमा चलखेल शुरु भएको तथ्य बाहिरिएको छ ।
बागमति प्रदेशका सांसद लक्ष्मण लम्सालसहितका समूहले भाँडामा लिएर चलाएको क्याफेले कोषलाई एक करोड बढि रकम तिर्न बाँकी रहेको कोषले जनाएको छ ।
क्याफेले कोरोना कहरको कारण देखाउँदै उक्त रकम तिर्न आनाकानी गरिरहेको कोषले जनाएको हो । सो रकम मिनाह गर्न मन्त्री आलेको सहायतामा चलखेल भइरहेको बताइएको छ ।
कात्तिकसम्ममा ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडाबापतको रकम क्याफेले कोषलाई बुझाउन बाँकी छ । त्यसयता रकम अझै बढेको छ ।
उक्त रकम तिर्न कोषले पत्र पठाउँदा पनि आनाकानी गरिरहेको क्याफेले मिनाहको लागि अनुरोध गरेको र तयसमा मन्त्री आलेको पनि अनुरोध रहेको कोषका एक कर्मचारीले जानकारी दिए ।