शौचालय मर्मत नहुँदा विद्यार्थी मारमा 
विद्यालयमा सौचालय अभाव हुँदा छात्रा समस्यामा परेका छन् । 

सुधा देव 

सप्तरी  ।  विद्यालयमा सौचालय अभाव हुँदा छात्रा समस्यामा परेका छन् । सप्तरी सदरमुकाममा रहेको राजदेवी ठाकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयमा  कोरोनाभाइरस संक्रमणको दोस्रो लहरपछि विद्यालय खुलेको १० दिन भइसक्दा पनि शौचालय नबन्दा  छात्रा समस्यामा परेका हुन् ।

चर्पीमा ढोका र सरसफाइ नभएको कारण  दिसापिसाब रोकेर पढ्न बाध्य भएको कक्षा १० मा अध्ययनरत छात्रा आरती झा बताउँछिन् । 

‘हामीहरूले प्रयोग गर्ने दुईवटा चर्पी छ । एउटामा ढोका छैन । अर्कोमा आधामात्र ढोका छ। चर्पी एकदमै फोहर र दुर्गन्धित छ। जान सक्ने अवस्था छैन । कसैलाई चासो पनि छैन,’ उनले भनिन् । 

त्यसैगरी,सोही कक्षामा अध्यनरत विनिता राजकले पनि विद्यालयमा शौचालयकाे समस्या रहेकाे बताइन् ।  ‘एक दिनमात्र होइन कति दिनसम्म दिसापिसाब रोकेर पढ्न सक्छौँ ?’ उनले प्रश्न गरिन् । 

विद्यालयका कार्यालय सहयोगी तारा मण्डलका अनुसार विद्यालयले पैसा नदिएपछि सफाइकर्मी नआएपछि चर्पीको दयनीय अवस्था आएको हो । 

‘विद्यालयमा १२ सय विद्यार्थी छ , त्यसमा पनि छात्रा नै बढी छ । चर्पी त फोहोर हुनु स्वभाविक हो। दिनँहु सफा गर्नुपर्ने हो । त्यसको लागि विद्यालयले खर्च गर्न नखोजेकै कारण छात्राले समस्या भोग्नु परेको हो,’ उनले भनिन् ।

यस समबन्धमा विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवले छात्राहरूको चर्पीमा भएको समस्या स्वीकार्दै समाधान गर्ने बताए ।  ‘म यस विद्यालयको प्रधानाध्यापक भएर आएको तीन दिन भयो । विद्यार्थी भर्ना अभियानमा लागेको छु । चर्पीको ढोका लगाउन लगाएर सरसफाइ गर्न लगाउनेछु’, उनले भने । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.