रुसी सेना युक्रेनमा आक्रमण गर्ने तयारीमा जुटेको हो ?

युक्रेनसँगको आफ्नो सीमामा रुसले एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ। 

जसलाई रुसले युक्रेनमा हमला गर्ने लागिरहेको हो भनी विश्वभर चासोका साथ हेरिएको छ । 

तर, रुसले यो कुरालाई अस्वीकार गर्दै आएको छ । 

त्यसैगरी, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा सैन्य कारबाही हुने आशंका व्यक्त गरेका छन् ।

बाइडेनले बुधबार भनेका छन्  'मलाई लागिरहेको छ कि रूसी समकक्ष भ्लादिमिर पुटिनले युक्रेनमा हस्तक्षेप गर्नेछन्, तर उनी युद्धबाट भने बच्न चाहन्छन्।' वास्तवमा, उनले रूसी सेनाको एक सानो हस्तक्षेपको सम्भावना व्यक्त गरेका छन् ।

तर, बाइडेनको यस बयानपछि युक्रेनमा उनको आलोचना भएको थियो । त्यसपछि, बिहीबार दिएको भाषणमा राष्ट्रपति बाडेन आफ्नो पहिलेको बयानबाट पछि हटेका छन् । उनले युक्रेनमा कुनै पनि रूसी सैन्य घुसपैठलाई आक्रमण मानिने बताए। 

अमेरिकाले युक्रेनलाई सैन्य सहायता स्वीकृत गरेपछि हतियारको पहिलो खेप यस हप्ता युक्रेन आइपुगेको छ र यसभित्र सीमामा तैनाथ सैनिकहरूका लागि हतियार पनि समावेश छ।

यहाँ बेलायती विदेश मन्त्रालयले रुसले युक्रेनमा आफूलाई समर्थन गर्ने नेता चाहेको बताएको छ । मन्त्रालयले चार पूर्व युक्रेनी नेताहरूको नाम जारी गर्दै भनेको छ कि 'यी नेताहरूको रूसी जासूसीहरुसँग सम्बन्ध छ र रसियाले उनीहरूलाई सम्भावित उम्मेद्वारको रूपमा हेरिरहेको छ।'

रुसले बेलायत र अमेरिकाले लगाएको आरोपलाई झुटो भएको बताएकाे छ । 

रुसले पश्चिमी देशहरूसामु माग राख्दै युक्रेनलाई नेटाेकाे सदस्य बन्न नदिन आग्रह गरेकाे छ र साथै नेटो गठबन्धनले पूर्वी युरोपमा हुने सबै सैन्य गतिविधि त्याग्नुपर्नेमा माग राखेकाे छ।

यस्तो अवस्थामा अब के हुनसक्छ, जसबाट युरोपको सम्पूर्ण सुरक्षा व्यवस्था नै खतरामा पर्नेछ ।

यहाँ हामी सात प्रश्नको जवाफको साथ रूस र युक्रेन बीचको वर्तमान तनाव बुझ्न प्रयास गर्छौं।

१. आखिर किन रुसले युक्रेनलाई धम्की दिइरहेको छ ?

युक्रेनी सीमामा एक लाखभन्दा बढी सैनिक परिचालन गरे पनि, रूसले आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ। रूसले लामो समयदेखि युरोपेली संस्थाहरू विशेष गरी नेटोसँग युक्रेनको संलग्नताको विरोध गर्दै आएको छ।

युक्रेनको सिमाना पश्चिममा युरोपेली देशहरू र पूर्वमा रुससँग जोडिएको छ। यद्यपि पूर्व सोभियत संघको सदस्य र जनसंख्याको छैटौं भाग रूसी मूलको भए पनि, रूससँग युक्रेनको गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ  ।

सन् २०१४ मा युक्रेनले रुस समर्थक राष्ट्रपतिलाई उनको पदबाट हटाएपछि रुसले आक्रोशित हुँदै दक्षिणी युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफ्नो कब्जामा लिएको थियो ।

२. हमलाको खतरा आखिर कति ठूलो छ ?

रुसले बारम्बार बताउँदै आएको छ । युक्रेनमाथि हमला गर्ने उसको कुनै योजना छैन । रुसी सेना प्रमुख भ्यालेरी गेरासिमोभले हमलाको योजनाबारे आएका खबरलाई झूटो भन्दै आएका छन्।

तर, यी दुई पक्षबीच तनाव भने चरम सीमामा छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी शक्तिहरूको आक्रामक व्यवहार जारी राखेमा उपयुक्त प्रतिरोधी कदम उठाउने चेतावनी दिएका छन्।

नेटोका महासचिवले युक्रेनमा द्वन्द्वको खतरा वास्तविक भएको चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले पनि रुस अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

पृथकतावादी र युक्रेनी सेनाबीच केही वर्षदेखि द्वन्द्व चलिरहेको छ । तर, अहिले दुवै पक्षबीच युद्धविराम चलिरहेको छ ।

युक्रेनको सिमानामा १० लाखभन्दा बढी रुसी सैनिक जम्मा हुनु चिन्ताको विषय हो । रुसले यस सैन्य भेलाको बारेमा कुनै स्पष्टीकरण नदिएको अमेरिकाले जनाएको छ । योसँगै अब रुसी सेना पनि अभ्यासका लागि बेलारुसतर्फ गइरहेका छन् । 

रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले हालको अवस्थालाई सन् १९६२ को क्युवाली क्षेप्यास्त्र संकटसँग तुलना गरेका छन् । त्योबेला अमेरिका र सोभियत संघ आणविक द्वन्द्वनजिक पुगेका थिए ।

पश्चिमी गुप्तचर एजेन्सीका अनुसार युक्रेनमा रूसको आक्रमण २०२२ को सुरुमा हुनसक्ने सम्भावना प्रवल छ।

३. रुस नेटोबाट के चाहन्छ ?
रुसले नाटोसँगको आफ्नो सम्बन्धलाई नयाँ आकार दिन आफ्नो अडान राखेको छ। रुसका उप-विदेशमन्त्री सर्गेई र्याबकोभले भने, 'युक्रेन कहिल्यै पनि नेटोको सदस्य नबन्नु हाम्रा लागि धेरै महत्त्वपूर्ण छ।'

रुसले नेटो देशहरूले युक्रेनलाई लगातार हतियार आपूर्ति गरिरहेको आरोप लगाएको छ र अमेरिका यी दुई देशबीच तनाव उत्पन्न गराइरहेकाे छ। राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, 'रुस अब पछि हट्ने छैन।' 

रुसले अमेरिकासँग एउटा सम्झौता गर्ने प्रस्ताव पनि गरेको छ जसअन्तर्गत उसले आफ्नो देशको भूभागबाहिर आणविक हतियार तैनाथ गर्न प्रतिबन्ध लगाउनेछ।

४. युक्रेनसँग रुसको माग के हो ?
रुसले सन् २०१४ मा  क्राइमियालाई उक्त प्रायद्वीपसँग ऐतिहासिक सम्बन्ध रहेको दाबी गर्दै कब्जा गरेको थियो । 

सन् १९९१ मा सोभियत संघको पतनलाई भ्लादिमिर पुटिनले ऐतिहासिक रूसको विघटन का रूपमा सम्झन्छन् । 

गत वर्ष एउटा लामो लेखमा उनले रुसी र युक्रेनीहरूलाई एउटै राष्ट्रियता भएको बताएका थिए। यसले पुटिनको सोचलाई उजागर गरेको विज्ञहरू विश्वास गर्छन्। उक्त लेखमा पुटिनले युक्रेनका वर्तमान नेताले रुस विरोधी परियोजना चलिरहेको पनि बताएका छन् ।

५. के रुसको सैन्य कारबाहीलाई रोक्न सकिन्छ ?
रुसी राष्ट्रपति पुटिनले कयौं पटक जो बाइडेनसँग र अन्य उच्चस्तरीय वार्ता जारी राख्नु पर्ने बताएका छन्। यद्यपि, आफ्ना मुख्य माग अस्वीकार गर्दा परिणाम गम्भीर हुने रूसी अधिकारीहरूले चेतावनी दिएका छन्।

अब सवाल उठ्छ कि रूस कहाँसम्म जान सक्नेछ ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि हमला गरे रुसका लागि गम्भीर परिणाम हुने चेतावनी दिएका छन् । तर,रुसको सानो हस्तक्षेपमा बाइडेन आफैँले यसले पश्चिमी देशहरूबीच असहमति निम्त्याउन सक्ने बताएका छन् ।

रूस र युक्रेनबीचको सीमामा कुनै पनि कारबाहीलाई हमला मानिने ह्वाइट हाउसले बताएको छ । तर रसियासँग साइबर आक्रमण र अर्धसैनिक कारबाहीजस्ता अन्य उपाय पनि रहेको ह्वाइट हाउसले चेतावनी दिएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले रुसले युक्रेनको पूर्वी सिमानामा लडिरहेका आफ्ना समर्थक विद्रोही विद्रोहीमाथि आक्रमण गर्नसक्ने आरोप लगाएको छ, ताकि उसले आफ्नो बहाना प्रयोग गरेर युक्रेनमा आक्रमण गर्न सकोस्। तर, रुसले भने यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।

रुसले विद्रोही नियन्त्रित क्षेत्रमा पाँच लाख राहदानीहरू वितरण गरेको आरोप पनि लगाइएको छ, ताकि यदि आफ्नो मनसाय पूरा भएन भने आफ्ना नागरिकहरूको सुरक्षाको आडमा कुनै पनि कार्यलाई जायज ठहराउन सक्छ।

यदि रूसको एकमात्र लक्ष्य नेटोलाई आफ्नो छिमेकीबाट बाहिर निकाल्न बाध्य पार्ने हो भने, यो सफल हुने कुनै सम्भावना छैन। नेटोले भविष्यमा आफ्नो हात बाँध्ने कुनै पनि प्रयासलाई अस्वीकार गरिदिएको छ ।

अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मनले भने, ''हामी कसैलाई नेटोकोखुला ढोका नीती धक्का दिन दिनेछैनौँ।''

अर्कोतर्फ युक्रेनले नेटोमा समावेश हुनका लागि स्पष्ट समयसीमा खोजिरहेको छ र नेटोले पनि रुसलाई यस प्रक्रियामा हस्तक्षेप गर्ने कुनै अधिकार नभएको चेतावनी दिएको छ । 


६.पश्चिमी देश युक्रेनलाई कहाँसम्म साथ दिनेछन्  ?

अमेरिकाले युक्रेनलाई उसको सार्वभौमसत्ता सुरक्षित गर्न सहयोग गर्नमा प्रतिबद्ध रहेको बताएको छ। उसले युक्रेनलाई हतियारको रुपमा सैन्य सहयोग पनि गरिरहेको छ ।

तनाव कम गर्ने पश्चिमी देशहरूको मुख्य हतियार प्रतिबन्ध हतियार र सल्लाहकारको रूपमा सैन्य सहायता हो।

अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई युक्रेनमा आक्रमण गरेमा कहिल्यै नदेखेको न सुनेको प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । तर यस्तो प्रतिबन्ध के हुन सक्छ ?

रुसको लागि सबैभन्दा ठूलो आर्थिक प्रहार यहाँको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय स्विफ्ट भुक्तानी प्रणालीबाट काट्ने हुन सक्छ। यो अन्तिम उपाय हुन सक्छ, तर यसो गर्दा रुसलाई कडा सन्देश जाने  लाट्भियाले बताएको छ।

रूससँग गर्न सकिने अर्को कठोरता भनेको जर्मनीमा रुसको नर्ड स्ट्रिम २ ग्यास पाइपलाइनको कामलाई रोक्नु हो। जर्मनीले यसलाई अनुमोदन गर्न विचार गरिरहेको छ। जर्मनीका विदेशमन्त्री एनालेना बेर्बोकले यदि रुसले कुनै सैन्य कारबाही गरेमा यो पाइपलाइनको काम सुरु गर्न नदिने स्पष्ट पारेकी छिन् ।

रुसी प्रत्यक्ष लगानी कोष वा रुबललाई विदेशी मुद्रामा रूपान्तरण गर्ने बैंकहरूलाई प्रतिबन्ध लगाउने कदमहरू पनि अपनाउन सकिन्छ।

७. के पश्चिमी शक्ति मिलेर काम गर्नेछन् ?

अमेरिकाले आफ्ना सहयोगीसँग मिलेर काम गर्न प्रतिबद्ध छ । तर, पनि अमेरिका र युरोपेली देशहबीच मतभेद छ ।

रुसले अमेरिकासँग मात्र मिलेर आफ्नो भविष्यको निर्णय गर्न नसक्ने युरोपेली नेताहरूले जोड दिएका छन् । 

फ्रान्सले युरोपेली शक्तिहरूले नेटोसँग मिलेर मात्र रुससँग वार्ता गर्नुपर्छ भन्ने प्रस्ताव राखेको छ।

युक्रेनका राष्ट्रपति यस संकटको समाधान खोज्न अन्तर्राष्ट्रिय सम्मेलन बोलाउन चाहन्छन्, जसमा रुससँगै फ्रान्स र जर्मनी पनि सहभागी हुनेछन्।

यी चार देशका नेताहरू नियमित रूपमा भेटघाट गर्दै आएका छन् ,तर राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा कुनै पनि सम्झौता नेटोसँग सम्बन्धित आफ्ना मागहरू स्वीकार गरे मात्रै हुने दाबी गरिरहेका छन्।

(क्विक नेपालका लागि बिबिसी हिन्दीबाट उर्मिला शर्माको अनुवाद)   

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.