झापा । झापाको भद्रपुरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक सोमबार मध्यरातमा तोडफोड भएको छ । चारआली – केचना सडक खण्डअन्तर्गत भद्रपुर – ९ मा रहेको देवकोटाको अर्धकदको शालिक तोडफोड भएको हो ।
सोमबार मध्यरातमा कसले तोडफोड गर्यो भन्ने पत्ता नलागेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ‘मध्यरातमा तोडफोड भएको जस्तो देखिन्छ । शालिक कसले र किन तोडफोड गर्यो भन्ने पत्ता लाग्न सकेको छैन,’ उनले भने, ‘समितिका पदाधिकारीलाई सोधपुछका लागि बोलाएका छौँ ।’
भद्रपुर – ९ स्थित देवकोटा चोकमा शालिक सडकबीचमै छ । देवकोटाको अर्धकदको शालिक भत्काएर दुई टुक्रा बनाइएको अवस्थामा रहेको देवकोटा स्मारक तथा संरक्षक समितिका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । यसअघि पनि यो शालिकको तीनपटकसम्म तोडफोड भएको उनले बताए । ‘शालिकलाई यसअघि पनि तीनपटकसम्म तोडफोड गर्ने प्रयास गरिएको थियो,’ उनले भने, ‘यसपटक मध्यरातमा फटाहाले तोडफोड गरे । शालिकको क्षतविक्षत बनाइएको छ । अर्धकदको शालिकको टाउको एकातिर र अन्य भाग अर्कोतिर बनाएर दुई टुक्रा पारिएको छ । शालिक भएको क्षेत्रमा बस्ती खासै छैन । छिमेकीले पनि भत्काएको थाहा पाएन छन् ।’
यो शालिक जनस्तरबाट निर्माण गरिएको उनले बताए । सडकबीचमा भएका कारण दुई वर्षअघि नै सार्ने निणर्य भएको थियो । शालिकमा कार ठोकिएर गत असारमा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान तथा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्युसमेत भएको थियो । उनको मृत्युपछि सरकारी निकायले पनि शालिकले दुर्घटना जोखिम बढाएको भन्दै अन्यन्त्र सार्न छलफल अघि बढाएको थियो । ‘सडकबीचमा दुर्घटना जोखिम बढाएकाले हामीले दुई वर्षअघि नै सार्ने निणर्य गरेका थियौँ । अहिले भएको ठाउँ अलिक पर सार्ने योजना थियो । तर, हामीसँग पैसा अभाव भयो । साहित्यिक संस्थासँग कहाँ पैसा हुने र !,’ अध्यक्ष पोखरेलले भने,‘यो देवकोटा नचिनेका सर्वसाधरणले पैसा उठाएर बनाएको शालिक हो । सार्नका लागि हामीसँग पैसा भएन । दुर्घटनामा शालिकलाई दोष लगाइयो । तर, त्यहाँ सडक नै राम्रो छैन । साँघुरो सडक छ । यसलाई व्यवस्थित गरे दुर्घटना जोखिम कम हुन्छ ।’
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले महाकवि देवकोटाको शालिक तोडफोडका विषयमा अनुसन्धार भइरहेको बताए । ‘यो घटनामा हामी संवेदनशील छौँ । घटनामा संलग्नलाई चाँडै पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने ।