राजविराज । वृद्ध भत्ता पाउन ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको छ।
बैंकले चेकबुक नदिँदा राजविराजका ज्येष्ठ नागरिक घन्टौंसम्म लाइनमा बस्न बाध्य भएका छन् ।
जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ४ बस्ने ७६ वर्षीय अमतिलाल मुखियाले वडाको स्लिप लिएर हप्तौंदेखि लाइन बसेर भुक्तानी लिन खोजे पनि पालो नआएकाले सास्ती भोग्नुपरेको बताए ।
सो वडाका ८० वर्षीय गीतादेवी मुखियाले वडा कार्यालयको सूचीवको हातबाट भुक्तानी पाएको स्मरण गर्दै बैंकिङ प्रक्रियालाई हटाउन सुझाव दिए ।
समाजिक सुरक्षा भत्ता कार्ड पाएर बैंकमा खाता खोले पश्चात् रकम हिनामिना नहुने विश्वास गरेका उनीहरु आजित भएको बताउँछन् ।
नेपाल सरकारको नयाँ अभ्यासअन्तर्गत बैंकिङ सेवामार्फत् भुक्तानी दिन सुरु गरिएको हो। सुरुको समयमा अलिक झन्झटिलो हुनु स्वाभाविकै हो।
चेकबुक पनि बिस्तारै दिन सुरु गरिएको छ। लाभग्राहीको चापले गर्दा र बैंकमा पर्याप्त कर्मचारी नभएकाले समेत समस्या देखिनुपरेको महादेवा गाउँपालिकाका निमित प्रशासकीय अधिकृत रामलखन यादवले बताएका छ्न् ।
उनले केही दिनमै यस्तो झन्झटबाट सम्पुर्ण गाउँवासी लाभग्राही मुक्त हुने विश्वास गरेको समेत बताएका छ्न्।