इटालीमा कर्मचारीलाई कोभिड पास अनिवार्य, नियम उल्लंघन गरे १५ सय युरो जरिवाना
इटाली सरकारले सम्पूर्ण कर्मचारीलाई खोप लगाएको, परीक्षण गर्दा नेगेटिभ आएको वा भाइरसबाट निको भएको प्रमाण दिने ‘ग्रीन पास’ अनिवार्य गरेको छ ।

एजेन्सी
रोम ।   इटाली सरकारले सम्पूर्ण कर्मचारीलाई खोप लगाएको, परीक्षण गर्दा नेगेटिभ आएको वा भाइरसबाट निको भएको प्रमाण दिने ‘ग्रीन पास’ अनिवार्य गरेको छ । नयाँ व्यबस्थासँगै इटाली आफ्ना नागरिकसँग खोपको प्रमाण खोज्ने पहिलो युरोपेली मुलुक बनेको छ ।

नयाँ नियमअनुसार कुनै पनि कर्मचारी पासबिना कार्यलयमा काम गर्न गएमा निलम्बन हुने र उनीहरुको पाँच दिनको तलब कट्टी हुनेछ । नियम पालना नगर्ने व्यवसाय र कर्मचारीले १५ सय युरो जरिवानासमेत तिर्नुपर्नेछ ।

१५ अक्टोबरबाट कार्यन्वयन ल्याइने नयाँ नियमले खोप कार्यक्रमलाई थप सहयोग गर्ने विश्वास गरिएको छ ।

डिजिटल र पेपरमा उपलब्ध गराइएको कोभिडको हरियो पास यसअघि नै रेल स्टेसन, रेस्टुरेन्ट, जिम हल र स्विमिङ पुलमा अनिवार्य गरिएको थियो ।

अब विद्यालयका शिक्षक तथा कर्मचारीले पनि अनिवार्य रुपमा कोभिड पास देखाउनुपर्ने भएको छ । पास नदेखाउनेले काम गर्न पाउने छैनन् ।

बिहीबार सरकारले नयाँ कानून अनुमोदन गरेको हो । नयाँ नियम सम्पूर्ण कार्यक्षेत्र र सबै क्षेत्रका कर्मचारीमा लागू हुनेछ ।

स्वास्थ्यमन्त्री रोर्बटो स्पेरान्जाले नयाँ नियमले खोप अभियान अझ सशक्त बन्ने विश्वास व्यक्त गरेका छन् । ‘पास व्यवस्थाले हाम्रो खोप अभियानलाई सशक्त बनाउनेछ,’ उनले भने । करिब ६५ प्रतिशत इटालियाली नागरिकले पूर्णखोप लगाइसकेका छन् ।

इटालीमा कोरोनाका कारण एक लाख ३० हजारको मृत्यु भइसकेको छ भने ४६ लाख संक्रमित बनेका छन् । डेल्टा भेरिअन्टका कारण दैनिक संक्रमितको संख्या फेरी बढेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.