विमलको गोलमा नेपाल विजयी

काठमाडौं । विमल घर्तिमगर राष्ट्रिय टोलीमा स्वर्णिम कमव्याक गरेलगतै खेलेको पहिलो मैत्रीपूर्ण खेलमा मेरिससविरुद्ध उनले गोल गरे । उनको गोलमा नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो ।

अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो । विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो ।  ग
त माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा गम्भीर चोट लागेपछि विमल मैदानबाट बाहिर थिए । विमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।


१३ औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । २६ औं मिनेटमा विमल घर्तीमगरको फितलो प्रहार मोरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए । 


३५ औं मिनेटमा मोरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अन्जनले गोलको सुनौलो मौका खेर फाले । बक्सको देब्रेभागबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

नेपालबाट सुदीप गुरुङ र आकाश बुडामगरले डेब्यु गरे । सुदीप सुरजजिउ ठकुरीको स्थानमा र आकाश तेज तामाङको स्थानमा मैदान प्रवेश गरे । दुवै जारी सातदोबाटो यूथ क्लबका खेलाडी हुन् । नेपालले मोरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.