काठमाडौं । नेपाली बजारमा नाम चलेका ब्राण्डेड विदेशी रक्सीहरुको नक्कली बोटलहरु बिगबिगी भएको प्रहरी अपराध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बजारमा नक्कली रक्सीका बोटलहरु वितरण भइरहेको भने सूचनाका आधारमा चार जना पक्राउ परेका छन् ।
नीज चार जनाले भारतीय बजारबाट नक्कली रक्सीका बोटलहरु नेपाली बजारमा ल्याउने र विक्री वितरण गरेको खुलेको हो । नेपालमा धेरै विक्री हुने रेड लेबल, ब्ल्याक लेबल, एब्सुलुट भोड्का र चिभाज रेगल लगायतका रक्सीहरुको नक्कली बोटलहरु बजारमा विक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पर्सा जिल्ला गादी घर भई बुढानिलकण्ठ एरियामा बस्ने सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले नक्कली रक्सीहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको महाशाखाले जनाएको छ ।
उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिराहरू सहित सन्तोष चन्द्र बख्रेल समेत ४ जनालाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कारवाहीको लागि शनिवार राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको साथै बरामद गरिएका मदिराहरुको गुणस्तर परिक्षणको लागी समेत पठाईएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बख्रलेसहित काठमाडौं जिल्ला कागेश्वरीमनहरा न.पा. ६ बस्ने बर्ष ३० को शैलेश पन्त, पर्सा सुवर्णपुर वडा नं. ५ बाट हाल काठमाडौं हाडिगाउँ बस्ने बर्ष २८ को रविन पाख्रीन र सर्लाही वरहथवा नपा वडा नं. ९ बाट काठमाडौं चावहिल बस्ने बर्ष ३८ को नारायण प्रसाद घिमिरे रहेका छन् ।
नीजहरुले पहिलो पटक १६०कार्टुन र दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन नक्कली ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र एब्सुलेट भोड्का ल्याई गैर कानुनी रुपमा विक्रि वितरण गरेको अनुसन्धानबाट खुलेको छ ।



