लोडसेडिङका कारण हुम्लामा कक्षा १२ को वार्षिक परीक्षा आधा घन्टा ढिलो
जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा विद्युत अवरुद्ध हुँदा आधा घन्टा ढिलो गरी कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ ।

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा विद्युत अवरुद्ध हुँदा आधा घन्टा ढिलो गरी कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन भएको छ ।

बुधबार रातिदेखि विद्युत सेवा बन्द हुँदा समयमै प्रश्नपत्र इमेलमार्फत डाउनलोड गरी प्रिन्ट गर्न नसकेर केही ढिला भएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।

यो वर्ष कक्षा १२ को परीक्षार्थीका लागि प्रश्न पत्र परीक्षाभन्दा आधा घन्टा अगाडि मात्रै आउने भएका कारण सिमकोटमा लोडसेडिङले परीक्षार्थीलाई थप समस्या बनाएको छ । कर्णाली माध्यामिक विद्यालय र मालिका माध्यामिक विद्यालयको परीक्षा केन्द्रका परीक्षार्थीले पनि मानसरोवर माध्यामिक विद्यालयबाट परीक्षा दिइरहेका छन् ।

मानसरोवरसहित तीनवटै परीक्षा केन्द्रका परीक्षार्थीले विद्युत, इन्टरनेटलगायतका समस्याका कारण एउटै विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्ने बाध्यता रहेको छ ।

मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष शाहीले राष्ट्रिय परीक्षा बोर्डबाट प्रश्नपत्र ढिलोगरी मेलमा आउनु र विद्यालयमा पावरको समस्याले बजारमा मेल चेक र प्रिन्ट गर्नुपर्ने भएपछि परीक्षा निर्धारित समयभन्दा ढिलो भएको बताए । परीक्षाको पहिलो र दोस्रो दिनको परीक्षा आधा घण्टा ढिलो सञ्चालन भएको उनको भनाइ छ ।

परीक्षा ११ बजेबाट सञ्चालन गर्ने कार्यतालिका भए पनि हुम्लामा साढे ११ बजेबाट सुरु भएको थियो । यस्तै गाउँघरबाट कक्षा १२ को परीक्षा दिन सदरमुकाम सिमकोटमा पुगेका परीक्षार्थीलाई विद्युत नहुँदा रातीको समयमा अध्ययन गर्न समस्या भएको छ । परीक्षा दिएर राम्रो नम्बर ल्याउनका लागि सहभागी भए पनि विद्युत नहुँदा थप समस्या बनाएको उनीहरुले गुनासो गरेका छन् ।

हिल्दुम वितरण केन्द्रले मर्मत कार्य जारी भएकाले अझै केही दिन मर्मत नहुँदा सम्म राति १० बजेदेखि विहान ५ बजेसम्म विद्युत आपुर्ति नहुने भएको जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.