एमसीसी सर्वसम्मत पास गर्ने निर्णय, भागबण्डामा राजदूत नियुक्ति गर्न नाम खोज्दै गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच अमेरिकी आर्थिक सहयोग परियोजना एमसीससी, विभिन्न देशमा राजदूत नियुक्ति र स्थानीय तह निर्वाचनबारे सोमबार बालुवाटारमा छलफल भएको छ।

बिहान पौने ११ बजेदेखि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो। 

उक्त छलफलमा सत्ता साझेदार माओवादी अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा आफ्नो पार्टी पुरानै अडानमा रहेको बताए। तरपनि गठबन्धनले आवश्यक बुँदाहरुको अध्ययन गरि सर्वसम्मत रुपमा एमसीसी पास गर्ने सहमति कायम गरिसकेको छ ।

समाजवादी अध्यक्ष नेपालले पनि प्रचण्डको भनाइमा साथ दिँदै अहिले नै यसबारेमा विवाद निकाल्नुभन्दा सहमतिका लागि प्रयास गर्नुपर्नेमा जोड दिएका थिए। 

छलफलमा तीन नेताबीच आगामी जेठमा गर्ने भनिएको स्थानीय तहको निर्वाचनबारे पनि कुरा भएको छ। सत्ता गठबन्धनले संविधानसँग बाझिएको स्थानीय तहसम्बन्धी कानुन संशोधन गरेर मात्रै मिति घोषणा गर्ने निर्णय लिइसकेको छ। 

त्यसैगरी यो छलफलमा विभिन्न देशमा खाली रहेका राजदूत नियुक्तिको विषयमा पनि तीन नेताको एजेण्डा बनेको थियो। 

स्रोतका अनुसार तीन नेताबीच राजदूत नियुक्तिमा करिब सहमति भएको छ। प्रधानमन्त्री देउवाले यसअघि गठबन्धनका दलसँग राजदूत नियुक्तिका लागि नाम मागेका थिए । 

विभिन्न देशमा गठबन्धनको भागबण्डाका आधारमा राजदूत चाँडै नियुक्ती गर्ने सहमति पनि भएको स्रोतको दावी छ ।

सोमबारको छलफलमा नाम दिए नदिएको खुलेको छैन। तर प्रचण्ड र नेपालले आफ्ना नेताहरुलाई केही दिनमै राजदूतबारे निर्णय हुने बताएका थिए। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.