आरपी सुवेदी
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा विद्यालय जाने उमेरकालाई करिब तीन सयलाई पुनः विद्यालय भर्ना गरिएको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत खगेन्द्र मल्लले खजुरा गाउँपालिकामा विद्यालय जाने उमेरका बालबालिका एक हजार एक सय बढी रहेको जानकारी दिँदै चालू आवमा दुई सय ९३ जनालाई पुनः विद्यालयमा भर्ना गरिएको बताए ।
खजुरा गाउँपालिकामा एक हजार एक सय १९ जना विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर छन् । उनीहरु आधारभूत तहदेखि कक्षा १२ सम्म अध्ययन गर्ने उमेरका रहेको खजुरा गाउपालिकाको शिक्षा शाखाले जनाएको छ । ‘शून्यदेखि कक्षा १२ सम्म अध्ययन गर्नेको संख्या ११ सय बढी छ । पालिका उनीहरुलाई विद्यालयमा पुन भित्र्याउने योजनाका साथ लागेको छ । यो वर्ष करिब तीन सयलाई पुन विद्यालयमा ल्याउन सफल भएका छौं, प्रयास जारी छ,’ मल्लले भने ।
समता रणनीति कार्यक्रम कार्यान्वयन योजनाअन्तर्गत पहिलो प्राथमिकतामा शून्यदेखि कक्षा ८ सम्मका सात सय ५१ जना बालबालिकालाई विद्यालयमा पुनः भर्ना गराउने गरी योजना तयार भएको उनको भनाइ छ ।
‘पहिलो चरणमा शून्यदेखि कक्षा ८ सम्मका ९३ जना बालबालिकालाई मासिक एक हजार छात्रवृत्ति, एक सयलाई खाद्यान्न र एक सयजनालाई पोसाक, स्टेसनरी, झोला दिने योजना बनाएर उनीहरुलाई विद्यालयमा ल्याइसकेका छौ । बाँकीलाई पनि यसै शैक्षिक सत्रमा क्रमशः समावेश बनाउँदै लैजाने र उनीहरुलाई विद्यालय भर्नासँगै टिकाउने विषयमा केन्द्रित भएका छौं,’ मल्लले भने ।