थापा र लिङदेनको महाधिवेशनपछिको पहिलो भेट

काठमाडौं । राप्रपाभित्र बढ्दो असन्तुष्टिका बीच अध्यक्ष  लिङ्देन र पूर्वअध्यक्ष  थापाबीच भेटवार्ता भएको छ । राप्रपाको महाधिवेशनपछि पहिलोपटक अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको हो  ।

महाधिवेशनमा पराजयपछि असन्तुष्ट रहँदै आएका थापालाई भेट्न लिङदेन बुढानिलकण्ठस्थित उनको निवासमै पुगेका थिए ।

महाधिवेशनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै यसबारे छानविनका लागि थापाले पार्टीमा दवाव दिँदै आएका छन् । तर, आफ्नो माग सुनुवाई नभएको भन्दै थापाले राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाउने तयारी गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

स्रोतका अनुसार थापा र लिङ्देन आ–आफ्नो अडानमा भने टसमस भएका छैनन् । यसलाई पुष्टि गर्दै आइतबार राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् । 
 

पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवं विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सबैसँग संवादको थालनी गरिएको र कोही निराश हुनु नपर्ने बताएका हुन् । 

‘देशले राप्रपाको आवश्यकता महशुस गरिरहेको, पार्टीले लिएको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्रा प्रारम्भ गरिरहेको छ’, अध्यक्ष लिङ्देनले भने, ‘सानातिना विषयमा नअल्झौ, बृहत राप्रपा निर्माणमा जुटौँ ।’ 

यसकै प्रयास स्वरुप शनिबार मात्रै निवर्तमान अध्यक्ष कमल थापासँग भेटघाट, छलफल भएको, छलफल सकारात्मक रहेको र संवाद जारी रहने सहमति भएको उनको भनाए छ । यता कमल थापाचाहिँ एक दुई दिनभित्रै ‘नयाँ निर्णय’ लिनेगरी अघि बढेका छन् ।

गत महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीभित्र छानबिन हुनुपर्ने एकसूत्रीय माग अघि सारेका थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागबारे सुनुवाइ नगरे ‘नयाँ निर्णय’ लिएर अघि बढ्ने तयारीमा जुटेका हुन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.