काठमाडौं । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भोलिबाट निजी सवारी र ट्याक्सीमा लागु गएिको जोर विजोर प्रणाली हटाउन जिल्ला प्रशासन कार्यालयहरुलाई सिफारिस गरेको छ ।
उक्त सीसीएमसीको बैठकले सवारीमा लागु गरिएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो । यसका साथै माघ १ गतेदेखि विद्यालय, सिनेमा घर र रात्री व्यवसाय संचालनमा ल्याउन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताइन ।
यसैगरी माघ १ गतेदेखि १२ वर्षमाथिका विद्यार्थीको हकमा नियमित भौतिक पठनपाठन संचालन हुनेछ । त्यो भन्दा कम उमेरका विद्यार्थीको हकमा आलोपालो तथा कम संख्यामा कक्षा संचालन गर्न सीसीएमसीले गरेको सिफारिसमा उल्लेख गरिएको छ ।
रात्रिकालीन समयमा संचालन हुने कार्यक्रम तथा व्यावसायीहरु रातिको समयमा १० बजेसम्म मात्र सञ्चालनमा आउने सीसीएमसीले सिफारिस गरेको छ । यस विषयमा भने नियमित अनुसन्धान गर्ने पनि उल्लेख गरिएको छ ।
सीसीएमसीको सिफारिसपछि सम्बन्धित जिल्ला प्रशासनहरुले आदेश जारी गर्ने भएका छन् । यसका लागि आज काठमाडौं, भक्तपुर र ललितपुरका तीन वटै जिल्लाका सीडीओको बैठक बस्ने तयारी रहेको छ ।