एमसीसी र स्थानीय निर्वाचनमा प्रचण्डको दोहोरो खेल, दुबै विषयमा बाधक

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) अहिले चर्चाको विषय बनेको छ । अमेरिका तत्काल नेपालमा एमसीसी अनुमोदन चाहन्छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी सके जस्ताको तस्तै नसके केही संशोधन सहित पारित गर्नैपर्ने चूनौती छ ।

त्यसको लागि प्रधानमन्त्री देउवाले विकल्पसहितका सबै प्रयास जारी गरेका छन् । एमसीसीकै विषयमा छलफल गर्न सरकारले पहिलो पटक प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा आमन्त्रण गरे ।

प्रधानमन्त्री देउवाले पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लागेको जानकारी पाए लगतै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवासँग फोनमै चर्काचर्की गरे । त्यसपछि प्रचण्डसहितको छलफल गर्ने वातावरण तय भयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटे । छलफलमा प्रमूख तीन पार्टी र सरकारको कुरा एक आपसमा बाँझिएको छ । प्रधानमन्त्री देउवा संसदमा एमसीसी टेबुल गर्न चाहन्छन् । प्रचण्ड आफ्नो नाफा घाटामा समयानुकुल एमसीसी अगाडी सार्नुपर्ने अवस्था प्रस्तुत भएका छन् । 

एमाले अध्यक्ष ओलीले सत्ता पक्षकै स्पष्ट धारणा नआएको भन्दै स्पष्ट धारणा ल्याउन माग गरे । सत्तारुढ गठबन्धनको बैठकमा प्रचण्डले स्थानीय निर्वाचनमा गठबन्धनको सहकार्य कायम रहने अवस्थामा एमसीसी पास गर्न कुनै अवरोध नहुने बताएका थिए । 

त्यसका लागी प्रधानमन्त्री लचक भएपनि नेपाली कांग्रेस भित्र पार्टीका प्रमुख नेताहरु सहमत छैनन् । स्थानीय निर्वाचनमा गठबन्धन कायम नहुने डरले प्रचण्ड निर्वाचन पछि मात्रै एमसीसी संसदमा टेबुल गराउन सबै रणनीतिमा लागेका छन् ।

उनले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरासँग पनि सहयोग मागेका थिए । प्रधानन्यायाधीश जबराले नमानेपछि उनलाई हटाउन बारलाई उचालेर आन्दोलन गर्न लगाउन पनि प्रचण्ड अग्रसर भए । एमसीए नेपाललाई पाँच महिनामा एमसीसी पास गर्ने आश्वासन दिएर प्रचण्ड स्थानीय निर्वाचन गठबन्धनको सहकार्यमा गर्न चाहन्छन् । 

सोही योजना अनुसार प्रचण्डले स्थानीय निर्वाचन पछि मात्रै एमसीसी संसदमा टेबुल गर्ने प्रस्ताव बालुवाटारको तीन नेताको छलफलमा राखेका छन् । प्रधानमन्त्री भने कुनै हालतमा एमसीसी पास गर्ने मनशायमा छन् । त्यसैले प्रधानमन्त्री देउवाले सभामुख अग्नी सापकोटासँग भेट गर्न कानूनमन्त्री लाई पठाएका थिए ।

तर सभामुख सापकोटाले भने प्रचण्डको सहमति नआएको र छलफलका लागि वातावरण नरहेको बताएका थिए । यता नेकपा एमाले संसदको अवरोध हटाउन सभामुख सच्चिनुपर्ने या उनीमाथी सरकारले महाअभियोग लागनउनु पर्ने जोडमा छ । 

समयमै स्थानीय तहको निर्वाचन गनुपर्ने माग पनि नेकपा एमालेको छ । नेताहरु एमसीसीको विरोध गर्ने पक्षमा भने छैनन् । तर समय अनुसार आफुलाई फाईदा हुने अवस्थामा एमसीसी टेबुल गराउने पक्षमा नेताहरु छन् । त्यसमा लगातार लागिरहने खेलाडीको रुपमा प्रचण्ड देखिएका छन् । 

स्थानीय तहको निर्वाचन सकेर मात्रै एमसीसी पास गनुपर्ने अडानमा प्रचण्ड आईपुग्नुले त्यो प्रष्ट हुन्छ । किनकी केही दिन अगाडी सत्तारुढ गठबन्धनमा भएको एमसीसी टेबुल गर्ने सहमतिबाट उनी पन्छिएका छन् ।

प्रधानमन्त्री देउवा भने सकेसम्म गठबन्धन टुटाउने पक्षमा छैनन् । अन्तिममा सहमति नभए नेकपा एमालेसँग मिलेर एमसीसी पास गर्ने र सभामुख अग्नी सापकोटामाथी महाअभियोग लगाउने विकल्पमा कांग्रेस पुगेका छन् । 

यहि सेरोफेरोमा कांग्रेस र सरकार निरन्तर छलफलमा छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कहिले स्थानीय तहको निर्वाचन सार्न त कहिले एमसीसी सार्न लागि परेका छन् । प्रचण्ड स्थानीय तहको निर्वाचन र एमसीसी कै विषयमा निरन्तर रन्थनिएका छन् ।

समयअनुकुल एउटा–एउटा विषय अघि सार्दै स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा सकरात्मक अवस्था सिर्जना गर्न उनी लागि परेका छन् । स्थानीय तहको निर्वाचन र एमसीसीको विषयमा प्रचण्ड दोहोरो भुमिकामा प्रस्तुत हुनुले दुई वटा कुरा प्रष्ट गरेको छ । पहिलो, उनी स्थानीय तहको निर्वाचनदेखि तर्सिएका छन् । दोश्रो, गठबन्धन टिकाउन उनी एमसीसी अहिले नै संसदमा टेबुल गराउने पक्षमा छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.