संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध जसपाद्वारा आह्वान

काठमाडौं । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टीले संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गर्न आह्वान गरेकाे छ । जसपाका अध्यक्ष यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै स‌ंविधान दिवसको अवसरमा कुनै पनि कार्यक्रममा सहभागी नहुने जानकारी दिँदै साे आह्वान गरेका हुन् । 

‘संविधानमा विभेदकारी प्रावधान भएका कारण हामी स‌ंविधान दिवसका दिन हुने कुनै पनि कार्यक्रमा सहभागी हुँदैनौँ ,‘ अध्यक्ष उपेन्द्र यादवद्वारा जारी सो विज्ञप्तिमा भनिएकाे छ, ‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायत प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धारामा विभेदकारी प्रावधान राखिएको हुँदा हामी सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्दैनाैँ ।’

साथै, यादवद्वारा जारी विज्ञप्तिमा संविधान विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानको विरोध गर्न  उल्लेख गरिएकाे छ । 

तर, उनले संविधान दिवसकाे अवसरमा विभेदकारी एवं त्रुटिपूर्ण प्रावधान परिवर्तन र सच्याउनका लागि देशका प्रमुख स्थानमा संविधान संशोधनको आवश्यकता विषयक अन्तर्क्रिया आयोजना गर्ने बताएका छन् । जारी विज्ञप्तिमा भनिएकाे छ, ‘संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गर्न आम जनसमुदाय एवं पार्टीको संगठनहरुलाई आह्वान गरिन्छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.