सुर्खेत । नेकपा माओवादी केन्द्रले मूर्ति चोरेर फौजदारी कसुरमा जेल सजाय भोगेका छिरिङ्ग दुम्दुम लामा उर्फ कार्चेन लामालाई मन्त्री बनाएका छन् । माओवादीको आन्दोलनको जग भनेको प्रचण्डपथ हो । प्रचण्डपथको अहिलेसम्मकै कंलक निर्णय भन्दै माओवादीमा नेताहरुबिच तिब्र आलोचना भइरहेको छ । आफ्नो कोटाबाट माओवादीले लामालाई मन्त्री बनाएका हुन् ।
उनले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । ६ महिनाको लागि भन्दै कर्णाली सरकारमा लामालाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफरिस गरेको थियो । सोही आधारमा उनी मन्त्री नियुक्त भएका हुन् ।
लामाले चीनको ताक्लाकोटस्थित खोचेर गुम्बामा रहेको १२ सय वर्ष पुरानो मुर्ति चोरी गरेको आरोप पुष्टि भएको थियो । लामासहित छिरिङ्ग पाल्दन लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।
२०५१ मंसिर २५ गते न्यायाधीश निलकण्ठ उपाध्यायले उनी दोषि ठहर भएको फैसला सुनाएका थिए । उक्त फैसलामा उनीसहित दुवै आरोपीलाई दुई–दुई वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना हुने आदेश दिइएको थियो ।
माओवादीले उनलाई निकट भविष्यमै मन्त्री बनाउने भएपछि लामाले २०७८ असोज ११ गते मात्रै कैद र जरिवाना भुक्तान गरेको हो । कैद भुक्तान गरेको वर्ष दिन नपुग्दै उनी मन्त्रीमा नियुक्त हुनु नैतिकताका आधारमा राम्रो नहुने कानुनविद्हरुको भनाई छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको इन्टेशनमै लामा मन्त्री भएका हुन् ।
लामा मन्त्री भएपछि माओवादी पार्टीभित्रै कडा आलोचना भएको छ । कर्णाली माओवादीका सचेतक ठम्मर विष्टलगायतका नेताहरु असन्तुष्ट देखिएका छन् । माओवादी जिवनमै यो निर्णय कलंक सावित भएको माओवादी नेताहरुकै भनाई छ ।
आइतबार कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र समाजवादीबाट एकजना मन्त्री नियुक्त भएका हुन् । कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिमबहादुर शाही नियुक्त भएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट जलस्रोत तथा उर्जामा गणेशप्रसाद सिंह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कार्चेन लामा छन् । माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् ।
एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया मन्त्री बनेका छन । उनलाई भौतिक, पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको हो । समाजवादीबाट यसअघि चन्द्र बहादुर शाही भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् ।