गठबन्धनमा पहिरो, मन्त्री फिर्ता बोलाउने तयारीमा प्रचण्ड

काठमाडौं । सत्तारुढ गठबन्धनमा पहिरो गएको छ । एमसीसी र स्थानीय तहको निर्वाचन वारे साझा सहमति कायम नभएपछि सत्तारुढ दलहरुमा विवाद चुलिन थालेको हो ।

गठबन्धनकै एउटा दल जनमोर्चा सडकमा निस्किसकेको छ । यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पनि प्रधानमन्त्री देउावासँग असन्तुष्ट छन् । त्यस कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

एमसीसी र स्थानीय तहको निर्वाचनको विषयमा नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले आफुहरुसँग सहमति नै नगरि एकलौटी रुपमा निर्णय गरेको भन्दै प्रचण्डले सरकार छोड्ने तयारी गरेको हो ।

प्रचण्ड निकट स्रोतका अनुसार फागुन २ गते बोलाइएको प्रतिनिधि सभाको बैठक अगाडीसम्म प्रधानमन्त्री देउवासँग निर्वाचन र एमसीसी वारे साझा धारणा निर्माण नभएको खण्डमा सरकार छोड्ने तयारी रहेको बताइएको छ ।

पछिल्लो समय स्थानीय तहको निर्वाचन र एमसीसीमा प्रचण्डले दोहोरो भुमिका प्रस्तुत गरिरहेका छन् । अमेरिकालाई एमसीसी पास गर्ने पत्र पनि पठाउने, तर यता एमसीसी अहिले नै संसदमा टेबुल नगर्न सभामुख अग्नीप्रसाद सापकोटालाई प्रयोग गरेको आरोप पनि प्रचण्डलाई छ ।

यस्तै स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम रहे निर्वाचन लगतै सहमतिमा एमसीसी पास गर्न पनि आफु तयार रहेको अभिव्यक्ति प्रचण्डले राखेका छन् । 

तर प्रधानमन्त्री देउवाले सके गठबन्धनकै सहमतिमा नसके एमालेको सहयोगमा एमसीसी पारित गर्ने विकल्प प्रस्तुत गरेपछि प्रचण्ड प्रधानमन्त्री देउवासँग फायर छन् । 

गठबन्धन दललाई बेवास्ता गर्दै नेकपा एमालेको माग अनुसार प्रधानमन्त्रीले निर्वाचनको मिति तय गरेको आरोप प्रचण्डको छ । सोही कारण प्रचण्ड बरु नेकपा एकीकृत समाजवादी र जसपासँग मिलेर निर्वाचनमा जाने तर एमसीसी पास नगर्ने सोचमा रहेको बुझिएको छ । 

प्रधानमन्त्री देउवाले बेवास्ता गर्दै गएको आरोप लगाउँदै प्रचण्डले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.