काङ्ग्रेसमा नेतृत्व परिवर्तन आवश्यक छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई लोकतान्त्रिक बनाउन नेतृत्व परिर्वन आवश्यक रहेको बताएका छन् । शनिबार विराटनरमा भएको एक कार्यक्रमलाई स‌ंबोधन गर्दै नेता कोइरालाले सो बताएका हुन् । 

‘नेपाली कांग्रेसको वर्तमान नेतृत्व परिवर्तन नभएसम्म पार्टी विधि विधान र लोकतान्त्रिक परिपाटीबाट चल्न सक्दैन,’ कोइरालाले भने,‘गतल प्रवृत्तिबाट पार्टी अघि बढिरहेकाले आगामी महाधिवेशनमा नेतृत्व परिवर्तन अपरिहार्य छ ।’

शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले नेपाली कांग्रेसले लोकतान्त्रिक पार्टी भनेपनि लोकतान्त्रिक मूल्य मान्यता अंगिकार गर्न नसकेको र अलोकतान्त्रिक प्रवृति हाबी भएको बताए ।

मुलुकमा सरकार नै नभएको अनुभूति हुन थालेको बताउँदै नेता कोइरालाले भने, ‘अध्यादेश ल्याएर मुलुक चलाउनु अलोकतान्त्रिक हो ।’ उनले समयमा एमसीसी बारे निर्णय गर्न पूर्व प्रधानमन्त्रीहरुबीच सहमति हुनुपर्ने बताए ।

उनले प्रदेश १ वा बाग्मती प्रदेश मध्ये एउटाको नेतृत्व कांग्रेसले पाउनुपर्ने स्पष्ट पारे । नेता कोइरालाले पाँच दलीय गठबन्धनलाई आगामी चुनावी गठबन्धन बनाउन नहुने धारणा व्यक्त गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.