काठमाडौं। नेपाली कांग्रेसका नेता दीपक खड्काले सभामुखविरुद्ध महाअभियोग लगाउने बताएका छन् । संसदमा एमसीसीलाई टेबुल नगराए कांग्रेसले सभामुखविरुद्ध महाअभियोग ल्याउने उनले बताए ।
पछिल्लो समय नेपाली कांग्रेस र सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा एमसीसी अनुमोदन गराउने तयारीमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल भने गठबन्धनको स्थितीमा भर पर्ने भन्दै एमसीसी पछि धकेल्न चाहन्छन् ।
एमसीसी संसदमा टेबुल गर्न सरकारले सभामुखलाई दुई पटक अनुरोध गरिसकेको तर सभामुखले प्रचण्डको कुरा सुनेर एमसीसी टेबुल नगराएको आरोप खड्काले लगाएका छन् ।
माओवादीले खुलेरै एमसीसी तत्काल पास नहुने भन्दै पछि सार्न प्रस्ताव गरेका छन् । नेकपा एकीकृत समाजवादी खुलेर सडकमा आएर एमसीसीको विरोधमा उत्रिएको छ ।
जनामोर्चा गठबन्धन छोडेर सडकमा आइसकेको छ । यस्तो अवस्थामा सत्तारुढ गठबन्धन लामो समय अघि बढ्न नसक्ने संकेत देखिएको छ । गठबन्धन तोडेर सभामुखविरुद्ध महाअभियोग लगाउने र एमसीसी पनि अनुमोदन गर्ने गरि कांग्रेसले नेकपा एमालेको साथ लिने संभावना बलियो बनेको छ, खड्काले क्विक नेपालसँग भने ।
सभामुखलाई कार्वाही गर्ने र स्थानीय निर्वाचन तोकेकै समयमै गर्ने शर्तमा नेकपा एमालेले कांग्रेसलाई सहयोग गर्न सकिने संभावना रहेको पनि खड्काले बताएका छन् ।