काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी गरेका छन् ।
१४औं महाधिवेशनबाट कांग्रेसको १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय समिति चयन भएको छ। विधानले सभापतिलाई थप ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने अधिकार दिएको छ।
जसअन्तर्गत सभापति देउवाले यसअघि दुई चरणमा गरी १३ जना केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन्। उनले पहिलो चरणमा गत पुस १७ गते १० र दोस्रो चरणमा पुस १८ गते ३ जना गरी १३ सदस्य मनोनयन गरेका हुन् ।
पहिलो चरणअन्तर्गत महाधिवेशनमा तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिमा प्रतिस्पर्धा गरेका नेताद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, उपसभापतिमा पराजित नेताद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, उमा रेग्मी, र मीनबहादुर विश्वकर्मा केन्द्रीय सदस्यमा भइसकेका छन् ।
यस्तै दोस्रो चरणमा देउवाले सभापतिमा उठेर हारेका अर्का उम्मेदवार कल्याणकुमार गुरुङ, आफ्नै समूहबाट महामन्त्रीमा पराजित प्रदीप पौडेल र कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पार्टीको केन्द्रीय सदस्य बनाएका हुन् ।
सभापति देउवाले कोषाध्यक्ष छनोट गर्न पनि बाँकी छ। कांग्रेसको विधानमा सभापतिको प्रस्तावमा केन्द्रीय समितिले कोषाध्यक्ष चयन गर्ने प्रावधान छ ।