काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार जनताको जनभावनाअनुसार संविधान कार्यन्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । संविधानको दिवशको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।
उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यन्वयनसंगै सवैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आजको आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले मुलुकको अग्रगामी परिवर्तनका लागि जीवन उत्सर्ग गर्नुहुने सवै ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै प्रधानमन्त्री देउवाले प्राकृतिक विपद् र कोभिड १९ को महामारीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट जारी भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रि गणतन्त्रात्मक शासन प्रणालीलाई मजबुत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको बताएका छन् ।