काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त भएको बताएका छन् । आइतबार संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले सो बताएका हुन् ।
‘यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात शहीदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ नेपालद्वारा आमनेपालीलाई दिएको शुभकामना सन्देशमा भनिएको छ,‘ नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण आन्दोलनको उपलब्धिका रूपमा संविधानसभाबाट सङ्घीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो ।’
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको मर्म भएको सो शुभकामना सन्देशमा उल्लेख छ ।
अध्यक्ष नेपालले प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागि परेको बताउँदै पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको बताएका छन् ।
‘सम्मानित सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मान सहित स्मरण गर्नैपर्छ। स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिन्छ । जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आ-आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गर्दछु,’ नेपालद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।