देउवाको नेतृत्वमा राजनीतिमा नयाँ कोर्स शुरु, एमाले अध्यक्ष ओली गोटी चाल्दै

काठमाडौं । नेपाली राजनीतिमा नयाँ तरंग आएको छ । आइतवार सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले संसदमा महाभियोगको प्रस्ताव दर्ता गरेपछि राजनीतिमा नयाँ कोर्सको शुरुवात भएको हो ।

नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा राजनीतिक नयाँ कोर्स शुरु भएको छ । केही दिन अघि नै प्रधानन्यायाधीश माथी महाअभियोग लगाउने तयारी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गरेपनि प्रधानमन्त्री देउवा तयार नभएका कारण प्रस्ताव दर्ता हुन सकेको थिएन ।

शनिवार गठबन्धनका नेताहरुबिच एमसीसीलाई सहमतिमा टेबुल गराउने सहमति भएपछि प्रधानमन्त्री देउवा प्रधानन्यायाधीशमाथी महाअभियोग प्रस्ताव दर्ता गर्न तयार भए । त्यसपछि तीन वटै पार्टीका ९८ जना सांसदहरुको हस्ताक्षरमा प्रधानन्यायाधीश राणामाथी महाअभियोगको प्रस्ताव दर्ता भयो ।

किन दर्ता भयो महाअभियोग ?
न्यायालयलाई सुधार्न र सुरक्षित बनाउन प्रधानन्यायाधीश राणामाथी महाअभियोगको प्रस्ताव दर्ता गरेको सत्तारुढ दलहरुले जनाएको छ । तथापी महाअभियोग प्रस्ताव दर्ता हुनुमा भित्री रहस्य भने फरक रहेको नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले बताएका छन् । 

प्रचण्डले अदालतलाई प्रयोग गरेर एमसीसी पर धकेल्न चाहन्छ । साथै सभामुख अग्नीप्रसाद सापकोटामाथीको अदालतमा विचारधिन मुद्धा निश्क्रिय पनि प्रचण्डले चाहेका छन् । प्रधानन्यायाधीश राणा रहेसम्म त्यो पुरा नहुने भएपछि प्रचण्ड राणासँग असन्तुष्ट छन् । प्रचण्डले यसअघि पनि सोही विषयलाई लिएर प्रधानन्यायाधीश राणालाई भेट गरेका थिए । त्यतिबेला पनि प्रचण्डको प्रस्तावमा राणा तयार भएका थिएनन् ।

यता प्रधानमन्त्री देउवाले नेकपा एमालेको दबाबमा स्थानीय तहको निर्वाचनको मिति तय गरेको गठबन्धन दललाई जानकारी गराएका थिए । तोकिएकै समयमा निर्वाचन गरे नेकपा एमाले नै पहिलो शक्ति हुने देउवाको अनुमान छ । कांग्रेसको पदाधिकारी बैठकले गठबन्धनकै सहकार्यमा स्थानीय निर्वाचनमा जाने अनुमति दिएको छैन । अर्कोतर्फ प्रधानमन्त्री देउवा तत्काल एमसीसी पास गर्न चाहन्छन् । एमसीसी टेबुल पनि हुने, निर्वाचन पनि सर्ने र गठबन्धन पनि नभड्किने भएपछि देउवाले प्रचण्डको प्रस्तावलाई सहर्ष स्विकार गरे । त्यसपछि संसदमा दर्ता भयो प्रधानन्यायाधीश राणामाथी महाअभियोग ।

अर्कोतर्फ प्रधानन्यायाधीशलाई महाअभियोग लगाएपछि कामु प्रधानन्याधीश दीपककुमार कार्कीलाई बनाउने गठबन्धनको सहमति भएको छ । कामु प्रधानन्यायाधीश कार्की बन्ने पछि सत्तापक्षलाई सघाउने ढंगले राणामाथी महाअभियोग आएको हो । गठबन्धनको स्वार्थ अनुसार आएको महाअभियोगसँग एमसीसी, सभामुख अग्नीप्रसाद सापकोटा र स्थानीय तहको निर्वाचनको तीन विषय प्रत्यक्ष जोडिएको छ ।

एमालेले नयाँ गोटी चाल्दै
सत्तारुढ दलले प्रधानन्यायाधीश राणामाथी महाअभियोग प्रस्ताव दर्ता गरे लगतै एमालेले असुन्तुष्ट व्यक्त गरेका छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली हुदाँ एमसीसी संसदमा टेबुल गर्ने निर्णय भएको थियो । हाल प्रधानमन्त्री देउवाले एमसीसी टेबुल गर्न प्रचण्डले पूर्ण साथ नदिएपछि ओलीसँग सहयोग मागेका थिए । तर एमाले अध्यक्ष ओलीले सत्तारुढ दलले स्पष्ट धारणा बनाउनु पर्ने अडान राखेपछि देउवा तीन विकल्पहरु प्रस्तुत गर्ने तयारीमा थिए । 

सभामुख हटाउन सहयोग गर्ने सर्तसहित स्थानीय तहको निर्वाचन मिति तय गरेर एमालेसँग सहयोग माग्ने, तोकिएकै समयमा निर्वाचन नगर्ने र गठबन्धन नभाड्ने गरि प्रचण्डसँग भित्री सहमति कायम गर्ने र प्रधानन्याधीश र सभामुख दुबैलाई महाअभियोग दर्ता गराई राजनीतिलाई स्थिर बनाउने तीन विकल्पहरु देउवाले चालेका छन् ।

सोही अनुरुप देउवा दोश्रो विकल्पमा प्रस्तुत भएका छन् । देउवाको नेतृत्वमा राजनीतिक कोर्स शुरु भएको दावी गर्दै एमालेले नयाँ गोटी चाल्ने तयारी गरेको छ । नेकपा एमालेले सर्बोच्च अदालतका चार न्यायाधीशहरुलाई पनि महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी थालेको हो । यस्तै सभामुख अग्नीप्रसाद सापकोटालाई हटाउने तयारी समेत एमालेले गरेको छ । वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की, मिराकुमारी खड्का, डा.आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारी एमालेले गरेको छ ।  

महाअभियोगको सिलसिलाको बिजारोपण गरेर अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम गरेको एमालेले आरोप लगाएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने गठबन्धनको षड्यन्त्र रहेको एमालेले जनाएको छ । प्रतिपक्षसँग तनाव बढाउने र राजनीतिक वातावरण बिथोल्ने प्रयास गठबन्धनले गर्न लागेको भन्दै एमालेले देउवाको नयाँ राजनीतिक कोर्सलाई निश्क्रिय पार्न नयाँ तरिकाले अघि बढ्ने जनाएको छ । 

राज्यका अंगहरूलाई आफ्नो दबाब तथा नियन्त्रणमा राख्न खोज्ने सत्ताधारीहरूको प्रयास असफल बनाउन एमाले नयाँ तरिकाले अघि बढ्ने छ, एमाले अध्यक्ष ओलीले भनेका छन् । एमालेले सचिवालय बैठक लगतै सोमवार दिउँसो संसदीय दलको बैठक बोलाएको छ । बैठक लगतै चार बरिष्ठ न्यायाधीशहरुमाथी महाअभियोग लगाउने र सभामुखविरुद्ध पनि लाग्ने तयारी एमालेले गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.