न्यायाधीशलाई नेम्वाङको आग्रह : सरकारले प्रदान गर्ने विभूषण अस्वीकार गर्नूस्

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले दिने भनेको विभूषण अस्वीकार गर्न आग्रह गरेका छन् । संविधान दिवसको अवसरमा नेकपा एमालेले गरेको कार्यक्रममा उपनेता नेम्वाङले सो आग्रह गरेका हुन् । केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीशलाई विभूषण प्रदान गरेको उनको भनाइ छ । 

‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनुभएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नुभएका न्यायाधीशले पाउनुभएको छ । यस्तै भएको हो भने  म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो,’ उपनेता नेम्वाङले भने।

सरकारले प्रदान गर्ने विभूषण गर्ने भनिएको नामावलीको लिस्टमा ५ पुस २०७७ को प्रतिनिधिसभा संसद विघटन बदर गर्ने संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीश पनि छन् ।

संविधान दिवसको अवसरमा सरकारले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेको छ । विभूषण प्राप्त गर्नेहरुमा प्रचण्डपत्नी सीता दाहाल पनि छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.