काठमाडौं । नेकपा एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका अध्यक्ष माधव कुमार नेपालको राजनीतिक अस्तित्व अहिले गुमनाममा रहेको छ । नेकपा एमाले हुँदा पाएको सांसद पदको विरासतमा राजनीति टिकाइरहेका नेपालको राजनीतिक बृतमा अहिले खासै मूल्याङ्कन छैन ।
त्यो चरितार्थ प्रमाणित गरेको छ, स्थानीय तहको निर्वाचन र एमसीसीको विषयले । यी दुई विषयमा न त एकीकृत समाजवादीको तर्फबाट नेता नेपालको कुनै धारणा आएको छ, न एजेण्डा नै । उनी दुबै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको भर पर्ने गरेका छन् । प्रचण्डले जे धारणा बनाउँछन् त्यसैमा नेपाल सहमत हुँदै आएका छन् ।
नेपाली कांग्रेसले बुधवारको संसद बैठकमा एमसीसी पेस गर्ने निर्णय गरेको छ । सो विषयमा गठबन्धनमै रहेको दल जनमोर्चाले कुनै हालतमा यो सह्य नहुने बताएको छ ।
नेकपा माओवादीले सरकारले पेस गरे गरोस्, नगरे नगरोस् भन्दै चासो दिएको छैन । एमसीसी टेबुल गर्दा मौन रहने संकेत दिएको माओवादीको सिको गर्दै प्रचण्डको कुरामा सहमत हुँदै एकीकृत समाजवादीका नेता नेपाल पनि सरकारले पेस गरेपनि नगरेपनि चासो नभएको बताएका छन् ।
एमसीसी संसदमा पेस गरेपछि माओवादीले जे गर्छन् हामी पनि त्यहिँ गर्छौं भन्दै नेपाल पन्छिएका छन् । एक त नेकपा एमाले हुँदा पाएको विरासतमा सरकारमा रहेर सत्ता साझेदार भएका दलहरु एमसीसीको विषयमा सरकारप्रति सहमत भएका छैनन् । अर्को त्यसमा खुलेर विरोध पनि गर्न सकेको छैन ।
त्यसमाथी नेकपा एकीकृत समाजवादी अहिलेको अवस्थामा राजनीतिक अस्तित्व भनेको शुन्य जस्तै छ । नेकपा माओवादी र पचण्डको पछि लुरु लुरु हिड्नु बाहेक एकीकृत समाजवादी पार्टीको अरु सामथ्र्य देखिएको छैन ।