काठमाडौं । महानायक राजेश हमालले इ–कमर्स ब्राण्ड हब ‘भेषभूषा डटकम’को उद्घाटन गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले उद्घाटन गरेका हुन् ।
सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु बिक्री गर्ने लक्ष्यसहित इ–कमर्स ब्राण्ड हब ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको कम्पनिले जनाएको छ ।
हुलास वेलनेस, केटीएम क्वीन्स, गोल्ड स्टार, इमेज लगायतका नेपाली १६ वटा र अन्तर्राष्ट्रिय एडिडास, लिभाइज, रिवोक, पिक लगायतका १८ वटा ब्राण्ड गरी सुरुवातमा ३४ वटा ब्राण्डका सामान बिक्री गर्ने बताइएको छ ।
सोमबार मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठ, आर्थिक पत्रकार समाजका अध्यक्ष जनार्दन बराल लगायतको उपस्थितिमा सो अनलाइन प्लेटफर्म सार्वजनिक गरिएको थियो । सो कम्पनीको दिपक पाण्डे अध्यक्ष रहेको छन् ।
हाल काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ शहरमा सेवा उपलब्ध गराइने अध्यक्ष दिपक पाण्डेले बताएका छन् । विदेशी ब्राण्ड नेपालीलाई उपलब्ध गराउने मात्रै होइन स्वदेशी ब्राण्ड विदेशमा पनि पु¥याउने भेषभूषाको लक्ष्य रहेको छ ।
नविनतम् शैली र सेवाहरु मार्फत ग्राहकहरुको सोच, आवश्यकता र चाहनाअनुरुप खरिद, बिक्री र परामर्शको एकीकृत संञ्जालमार्फत गुणस्तरीय सामानहरुलाई उत्कृष्ट बिक्री माध्यम तथा विश्व स्तरीय अत्याधुनिक सेवा प्रणाली मार्फत् उपभोक्ताहरूसँग जोडिने भेषभूषाका प्रबन्ध निर्देशक अनिल बन्जराले बताए ।
भेषभूषा डटकमकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) तृष्णा आचार्यका अनुसार विश्व प्रख्यात ब्राण्डहरुको नेपालमा पहिलो डिजिटल प्लेटफर्मको सुरुवात भएको हो । भेषभूषा डटकमको अनलाइन र अफलाइन सेवा संयन्त्र मार्फत खरिद, परामर्श र अन्तरक्रियाको काम पनि हुने सीईओ आचार्यको भनाई छ ।