झापा । हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने माई नदीको पुल एक दशकदेखि अलपत्र छ । ३१ जे७ २०६८ मा चार वर्षभित्र सक्ने सर्तसहित पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिएको माई पुल एक दशकदेखि अलपत्र अवस्थामा छ ।
हिउँदमा काम हुन्छ बर्खामा बनाएको पुलको केही भाग खोल र राखिँदै आएको छ । २०७२ जेठ मसान्तमा सक्ने गरी ३४ करोडमा ठेक्का लगाइएको छ । पुल ७ सय २४ मिटर लम्बाइको छ । पुल समयमा निर्माण नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य छन् स्थानीय । खोला तरेबापत पैसा तिर्नुपर्ने बाध्यता स्थानीयलाई छ । यो बाटो भएर दैनिक एक हजार बढी मानिस आवतजावत गर्दै आएका छन् ।
गत वर्षसम्म हिउँदमा बाँसको पुल लगाइने गरिएको थियो । स्थानीय ईश्वर माझी र उनका भाइ विपीन माझीले बर्खामा डुंगा र हिउँदमा बाँसको पुल लगाउँदै आएका छन् । यसपटक भने मध्यहिउँदमा पनि डुंगाकै भरमा नदी तर्नुपर्ने बाध्यता छ । जसकारण मोटरसाइलक आवतजावत गर्न निकै मुस्किल छ । डुंगमा चढाएर पार गर्दा दुई सय रुपैयाँसम्म लाग्ने गरेको छ ।