महोत्तरी । महोत्तरीमा आर्केष्ट्रा पूजाको विषयलाई लिएर झगडा हुँदा ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको छ । सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा सो घटना भएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि दुवै पक्षबीच कुटाकुट हुँदा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए ।
त्यसको केही बेरमै उनको मृत्यु भएको स्थानीयवासीको भनाइ छ । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।